काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन्।
नेपाल चेम्बर अफ कमर्शको ७४औँ वार्षिक साधारणसभा उद्घाटनमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरुपमा उद्योग–व्यवसायलाई अगाडि बढाउन आग्रह गरेका हुन्।
‘आज हामीलाई सुशासन र विकास चाहिएको छ। सुशानमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ। त्यसलाई नियन्त्रण गर्नका लागि तपाईँहरूको पनि सहयोग चाहिन्छ,’ प्रधानमन्त्रीले भने, ‘देशको परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरू मिलेर सरकार बनेको छ। त्यसले स्थिरता दिएको आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो शिलशिला कायम रहन्छ। त्यसकारण तपाईँहरू ढुक्क भएर लगानी गर्नुस्। देशको विकासका योगदान गर्नुस्।’
आजको कृत्रिम बौद्धिकताको समेत सदुपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा उनले जोड दिए। चेम्बर, एउटा सरकार र निजी क्षेत्रबीचको पुलको कार्य गर्ने संस्था भएको र नीति निर्माणका सवालमा सरकारलाई सघाएको भन्दै प्रधानमन्त्री ओलीले धन्यवाद दिए।