काठमाडौँ । मारुती सिमेन्ट्स लिमिटेडले पछिल्लो एक वर्षमा पौने पाँच अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले गत वर्ष सन् २०२४ मा मारुती सिमेन्ट्सले ४ अर्ब ७० करोड ७० लाख रुपैयाँ बराबरको आम्दानी गरेको जनाएको छ । यो सन् २०२३ को भन्दा १०.९३ प्रतिशत अर्थात ४६ करोड ४० लाख रुपैयाँ धेरै हो ।
चालु आर्थिक वर्षको ६ महिनामा यस कम्पनीले २ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको छ । यो वृद्धिमा मुख्यतः उत्पादन वृद्धिले टेवा पुर्याएको देखिन्छ । यद्दपी मूल्य घटेकाले कुल आम्दानीमा सीमित प्रभाव परेको छ ।
यस्तै यस कम्पनीले सन् २०२३ मा कम्पनीले ४ अर्ब २४ करोड ३० लाख, सन् २०२२ मा ४ अर्ब ९७ करोड ७० लाख, सन् २०२१ मा ६ अर्ब ८६ करोड ५० लाख र सन् २०२० मा ५ अर्ब ६३ करोड १० लाख रुपैयाँको व्यापार गरेको इक्राको प्रतिवेदनमा उल्लेख गरेको छ ।
नन्द किशोर राठीद्वारा स्थापित यो उद्योगले तीन दशकीय अवधिमा विभिन्न चुनौती र अवसरहरू पार गर्दै आफूलाई परिमार्जित र उच्चस्तरीय प्रतिस्पर्धामा उभ्याउन सफल भएको छ। आज मारुती सिमेन्ट नेपाली सिमेन्ट उद्योगका प्रमुख नामहरूमध्ये एक बनेको छ ।
सन् १९९४ मा स्थापना भएको मारुति नेपालका प्रमुख सिमेन्ट उत्पादक मध्ये एक हो। सिराहाको गोलबजारमा स्थित यो कम्पनीले सिमेन्ट र क्लिन्कर उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । नेपाली निर्माण उद्योगमा यसको प्रगति र सफलताको कथा अत्यन्त प्रेरणादायक छ । सुरुआतमा मारुति सिमेन्टले ६०० टन प्रतिदिन क्लिन्कर उत्पादन क्षमता र ५०० टन प्रतिदिन ग्राइन्डिंग क्षमता सहित आफ्नो सञ्चालन सुरु गरेको थियो । समयको साथ, कम्पनीले आफ्नो क्षमता विस्तार गर्दै हाल १ हजार ५०० टन प्रतिदिन क्लिन्कर र २ हजार टन प्रतिदिन ग्राइन्डिंग क्षमतासम्मको स्तरमा पुगेको छ ।
यसका साथै, कम्पनीले आफ्नो उत्पादन क्षमता थप बढाउने योजनासमेत अघि बढाएको छ । कम्पनीको क्लिन्कर उत्पादन क्षमता ३ हजार ३०० टन प्रतिदिन र ग्राइन्डिंग क्षमता ४ हजार टन प्रतिदिन पु९याउने उद्देश्य राखिएको छ । मारुति सिमेन्टले मारुति ब्राण्ड अन्तर्गत प्रमुखः अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट उत्पादन गर्दछ र भविष्यमा पोर्टल्यान्ड पोजोलेना सिमेन्ट समेत उत्पादन गर्ने योजना बनाएको छ ।
यी सुधारहरुका बाबजुद पनि यसले केही गम्भीर चुनौतीहरु सामना गरिरहेको छ । नेपाल विद्युत प्राधिकरणले हालै कम्पनीलाई ५७ करोड ५० लाख रुपैयाँ बराबरको पुरानो बिजुली बिल विवाद पुनः उठाएको छ । यदि यो दायित्व कम्पनीले व्यहोर्नु परेमा यसको वित्तीय स्थितिमा थप दबाब पर्न सक्छ । त्यसैगरी, निर्माण सामग्री उद्योग मौसमी प्रवृत्तिको हुने भएकाले वर्षको केही समयमा कार्यशील पुँजीको माग अत्यधिक बढ्न सक्छ ।
कम्पनीले सञ्चालन नाफा स्थिर छ । यद्यपि पछिल्ला वर्षहरूमा यसको नाफामा गिरावट आएको छ । सन् २०२० मा सञ्चालन नाफा मर्जिन २० प्रतिशत थियो, जुन सन् २०२१ मा २१ प्रतिशत पुगेको थियो । यस्तो अनुपात सन् २०२२ को ११ प्रतिशत र २०२३ मा ७ प्रतिशतमा घट्यो । सन् २०२४ मा भने यो मर्जिन ९ प्रतिशतको सुधार देखिएको छ ।
यता, सिमेन्ट उद्योगमा तीब्र प्रतिस्पर्धा रहेको छ । जसका कारण उत्पादन लागत बढ्दा मूल्य निर्धारणमा लचिलोपन सीमित रहन्छ । नेपालमा सिमेन्टको माग सीमित रहँदा पनि बजारमा नयाँ कम्पनीहरुको प्रवेशले प्रतिस्पर्धा झन चर्किएको छ । यदि कच्चा पदार्थको मूल्यमा उतारचढाव आयो भने कम्पनीको नाफा प्रभावित हुनसक्छ ।
यता, कम्पनीले आफ्नो ऋण र ईक्विटी अनुपातमा सन्तुलन राखेको छ, जसले कम्पनीको वित्तीय सुदृढता र ऋण लिने क्षमता संकेत देखिएको छ । सन् २०२० मा कम्पनीको अनुपात ०।३६ थियो, जुन ०.७१ मा बढेर सन् २०२२ मा पुगेको थियो । त्यसपछि यो अनुपात सन् २०२३ र २०२४ मा क्रमशः ०.६८ र ०.७२ कायम रह्यो । कुल बाह्य दायित्व र शुद्ध नेट वर्थ अनुपातमा उतारचढ़ाव देखिएको छ, जुन सन् २०२३ मा १.०१ सम्म पुगेको थियो । उक्त अनुपातमा २०२० मा ०.७२ र २०२१ मा ०।५७ को सुधार भएको थियो र सन् २०२४ मा ०.९९ मा रहेको छ ।
कम्पनी सर्वसाधारणमा प्रतिकित्ता ३७७ रुपैयाँमा १ करोड १६ लाख कित्ता बराबरको ४ अर्ब ३७ करोड ३२ लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने तयारीमा छ । मारुतीले ‘इक्राएनपी आइआर बीबीबी’ रेटिङ पुनः पुष्टि गराएको छ ।
नेपालमा सिमेन्ट उद्योगका लागि सरकारको नीतिगत सहयोग महत्त्वपूर्ण हुने देखिन्छ । हालसम्म सरकारले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न सिमेन्ट आयातमा उच्च भन्सार शुल्क लगाएको छ । जसले मारुती जस्ता कम्पनीहरुलाई फाइदा पुर्याएको छ । तर, यदि भविष्यमा सरकारी नीति परिवर्तन भई आयातीत सिमेन्ट सस्तो भए त्यसले स्वदेशी उत्पादकहरुलाई चुनौती दिन सक्छ ।
कुनै समय विदेशी सिमेन्टको दबदबा रहेको नेपालमा अहिले अवस्था फेरिएको छ । नेपाली सिमेन्ट उद्योगको यात्रा विशेष चमत्कारी वृद्धि भई विदेशी सिमेन्ट ब्राण्डसँग प्रतिस्पर्धा गर्दै स्वदेशी सिमेन्ट निर्यात गरेर डलर कमाइरहेका छन् । यसमा प्रमुख योगदान २०५१ सालमा स्थापना भएको मारुती सिमेन्ट उद्योगको हो, जुन निजी क्षेत्रको पहिलो ग्रिनफिल्ड सिमेन्ट उद्योगका रूपमा उभिएको थियो।