भाटभटेनीमा लुटपाट हुँदा आन्दोलनकारीलाई कुट्ने गार्ड नगदसहित सम्मानित

0 Shares

काठमाडौं । शुक्रबार भएको राजावादी आन्दोलनमा लुटपाटका क्रममा साहसिक काम गर्ने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले सम्मान गरेका छन् । उनलाई पाँच लाख एक हजार १११ नगदसहित सम्मान गरी पाँच तह बढुवा गरिएको छ ।

अन्य तीन सुरक्षा गार्ड सूर्य गिरी, दीपेश खड्का, सोमबहादुर भुजेललाई २५ हजार १ रुपैयाँ र एक ग्रेड बढुवा गरिएको छ । यस्तै ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङलाई ५१ हजार १११ को चेक र दुई ग्रेड बढुवा प्राप्त गरेका छन् ।

सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरिरहेको समयमा कर्तव्य निर्वाह गर्दै अग्रपंंक्तिमा खटिएका कर्मचारी तथा व्यापारलाई निरन्तरता दिन भन्दै सुपरमार्केटले सम्मान कार्यक्रम राखिएको थियो । यसमा अन्य गार्डहरूलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

लुटपाटको क्रममा पराजुलीले लुटपाटमा संलग्नमाथि गरेको कारबाही सामाजिक सञ्जालमा भाइरल बनेको थियो । दर्जनौँ संख्यामा रहेका आन्दोलनकारीलाई उनले लिस्टीले कुट्दै भगाएका थिए ।

उक्त घटनामा भाटभटेनीमा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ । त्यसमध्ये ६४ लाख ८८ हजार बराबरको सामान लुटिएको बताइएको छ ।

 

सम्बन्धित समाचार