अर्बौं दान दिने भाटभटेनीको बदनामी गराउन ‘अवैध भेप’लाई जोडियो : मीनबहादुर गुरुङ

0 Shares

काठमाडौं। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले संसदमा सांसदहरूले राखेको धारणाको खण्डन गरेका छन्। उनले ‘अवैध भेप’को कारोबार नगरेको भन्दै सांसदको धारणमाथि खण्डन गरेका हुन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरू गंगा कार्की र मनिष झाले भाटभटेनीका मालिक गुरुङले अवैध भेपको कारोबार गरेको बताएका थिए। ‘सार्वभौम जनताका प्रतिनिधिमूलक थलो प्रतिनिधिसभामा व्यक्त भएका धारणा तथ्यमा आधारित हुनुपर्छ भन्ने मान्यतामा हामी पनि विश्वास गर्दछौँ,’ गुरुङले भने, ‘तथापि, सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको भनी उहाँहरुले व्यक्त गर्नुभएको धारणामा कुनै पनि सत्यता नभएको स्पष्ट पार्न चाहन्छौँ।’

यस्तै, गुरुङले सांसदको धारणालाई आधार बनाएर प्रशारण भएको समाचारप्रति समेत ध्यानाकर्षण भएको जनाएका छन्। तातोपानी भन्सारबाट शिल लगाएर पास गरिएको सामग्रीबाहेक चालक तथा सहचालकको कमजोरीको जिम्मेवारी आयातकर्ताको नहुने उनको भनाइ थियो।

उनले भाटभटेनीको गाडी चलाउँदा पक्राउ परेका चालकलाई सरकारले निष्पक्ष ढंगले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे। भाटभटेनी वस्तु व्यापारमा सबैभन्दा बढी कर तिर्ने व्यापारिक संस्था भएकाले मुलुकको दीर्घकालीन हित चाहने हुँदा कहिले पनि गलत कामको पछि नलाग्ने उनको भनाइ थियो।

‘अर्बौं रुपैयाँ दान दातव्यमा खर्च गरिरहेको संस्थाको बदनामी गराउन ‘अवैध भेप’लाई जोडेर प्रचार गरिनु राम्रो काम गर्ने व्यक्तिको मानसिकता कमजोर तुल्याउने षड्यन्त्र हो,’ उनले भने।

एक जना चालकले गरेको अपराधसँग जोडेर कर्पोरेट संस्थालाई बदनाम गराउने कार्यमा नलाग्न आग्रह गरेका थिए। उनले पक्राउ परेका चालकलाई अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्न माग गरेका छन्।

सम्बन्धित समाचार