सुनले विश्व बजारमै बनायो नयाँ रेकर्ड, करेक्सनको सम्भावना कति ?

0 Shares

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले बुधबार नयाँ रेकर्ड बनाएको छ । बुधबारको सुरुवाती कारोबारमै स्पट गोल्ड प्रतिऔंस ३ हजार ४५.२४ डलरको हालसम्मकै उच्च विन्दुमा पुगेको रोयटर्सले उल्लेख गरेको छ । सुनको भाउले सन् २०२५ मा १५औं पटक अलटाइम हाई रेकर्ड ब्रेक गरेको हो । सन् २०२५ मा मात्रै सुन १४ प्रतिशतले बढिसकेको छ भने विगत १ वर्षको अवधिमा ३८ प्रतिशतले बढेको छ ।

निरन्तरजसो बढेको सुनको मूल्यमा अब करेक्सन आउँछ वा थप माथिल्लो प्रवृत्ति कायम रहन्छ भन्ने आम कौतुहलता बढेको छ । सुनको भाउमा ठूलो गिरावट नआएपनि केही महत्वपूर्ण करेक्सन भने पहुँचमै रहेको फोर्ब्सका विश्लेषकहरुले बताएका छन् ।

सुनको मूल्यमा तीव्र वृद्धि हुनुको कारण के हो ?

सुनको मूल्यमा भएको नाटकीय वृद्धिका लागि धेरै कारकहरुलाई जिम्मेवार ठहराउन सकिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमुख व्यापारिक साझेदारहरु विरुद्ध दिएको शुल्क वृद्धिको पछिल्लो चरणको धम्कीले लगानीकर्ताहरुलाई इक्विटीबाट सुन जस्ता सुरक्षित सम्पतिहरुतर्फ सर्न प्रेरित गरेको छ ।

यसका साथै, अमेरिकी फेडरल रिजर्भले हाल ब्याजदर कटौतीको क्रममा रोक लगाएको भए पनि भविष्यमा हुने सम्भावित ब्याजदर कटौतीको अनुमानले सुनको मागलाई बढाएको छ । यसबाहेक, विश्वव्यापी केन्द्रीय बैंकहरुले आफ्नो आक्रामक सुन खरिदलाई कायम राखेका छन् ।

सन् २०२४ मा १ हजार टनभन्दा बढी सुन खरिद गरेका केन्द्रीय बैंकहरुले आफ्नो गतिविधिलाई सन् २०२५ पनि जारी राखेका छन् । अन्तमा, मन्दीको डर र मुद्राको उतारचढावका कारण निरन्तर बजार अनिश्चितताहरुबीच आर्थिक अस्थिरता विरुद्धको हेजको रुपमा धेरै लगानीकर्ताहरु सुनतिर फर्किरहेका छन् ।

सुनको भाउमा महत्त्वपूर्ण करेक्सनका ऐतिहासिक उदाहरणहरु

इतिहासमा सुनको मूल्यमा धेरै ठूला करेक्सनहरु भएका छन् । यी करेक्सनहरु प्रायः आर्थिक अवस्थामा परिवर्तन, ब्याजदर नीतिहरुमा परिवर्तन र लगानीकर्ताको मनोभावनामा आएको भिन्नताका कारणले गर्दा भएका हुन् ।

६५ प्रतिशत करेक्सन स् सन् १९८० को जनवरीमा सुनको मूल्य प्रतिऔंस ८५० डलर रहेको थियो । तर १९८० को दशकको मध्यतिर फेडरल रिजर्भले मुद्रास्फीति विरुद्धको लडाईमा ब्याजदर २० प्रतिशतसम्म बढाएपछि सुनको भाउ लगभग ३०० डलरमा झरेको थियो ।

३८ प्रतिशत करेक्सन स् सन् १९९६ मा प्रतिऔंस लगभग ४०० डलरबाट सुरु भएको सुनको मूल्य सन् १९९९ र २००१ कोबीचमा प्रतिऔंस २५० डलरमा झरेको थियो । यो गिरावट मुख्यतया युरोपका केन्द्रीय बैंकहरुले उल्लेखनीय मात्रामा सुनको रिजर्भ घटाएका कारणले भएको थियो । यसबाहेक, बलियो अमेरिकी आर्थिक वृद्धि र फस्टाइरहेको सेयर बजारले सुनको माग घटाएको थियो ।

३० प्रतिशत करेक्सन स् सन् २००८ मार्चमा सुनको मूल्य लगभग १ हजार डलर प्रतिऔंस थियो । तर अक्टोबर २००८ सम्ममा यो प्रतिऔंस ७०० डलरमा झरेको थियो । लेहमन ब्रदर्सको पतन र त्यसपछिको वित्तीय संकटले बजारव्यापी तरलता संकट निम्त्याएपछि लगानीकर्ताहरुले स्टक र अन्य सम्पतिमा भएको घाटा पूर्ति गर्न सुन बेच्न बाध्य भएका थिए ।

४५ प्रतिशत करेक्सन स् सन् २०११ को सेप्टेम्बरमा सुनको मूल्य प्रतिऔंस १ हजार ९२० डलरको उच्चतम विन्दुमा पुग्यो । तर सन् २०१५ डिसेम्बरसम्ममा यो घटेर १ हजार ५० डलर प्रतिऔंसमा झर्यो । यो करेक्सन अमेरिकी फेडरल रिजर्भले सम्भावित ब्याजदर वृद्धिको संकेत गरेपछि भएको थियो । ब्याजदर वृद्धिले अमेरिकी डलरलाई बलियो बनायो भने सेयर बजारहरु पुनः फस्टाउन थालेपछि सुरक्षित सम्पतिकोरुपमा सुनप्रति आकर्षण घट्यो ।

१९ प्रतिशत करेक्सन स् हालसालै, सुनको मूल्य सन् २०२० अगस्टमा प्रतिऔंस २ हजार ७५ डलरबाट घटेर सन् २०२१ मार्चमा प्रतिऔंस १ हजार ६७५ डलरमा झरेको थियो । कोभिड १९ पछि आएको द्रुत आर्थिक सुधारका कारण सेयर बजारमा देखिएको उच्च वृद्धिले सुनको भाउमा करेक्सन आएको थियो ।

के अब सुनको मूल्यमा करेक्सन सम्भव छ ?

मन्दीको डरले सामान्यतया सुनको मूल्यलाई बढाउने भए पनि केही परिस्थितिहरु यस्ता हुन्छन् जसले सनुको मूल्यलाई घटाउन सक्छ । उदाहरणका लागि, यदि मन्दीको परिणामस्वरुपस् अपस्फीति ९मूल्य घट्ने स्थिति० भयो भने नगद बढी मूल्यवान हुन्छ । यस्तो अस्थामा सुनले मूल्य गुमाउन सक्छ ।

यदि लगानीकर्ताहरु आत्तिए र सेयर बजारको घाटा पूर्ति गर्न तरलता आवश्यक पर्यो भने उनीहरुले सुन बेच्न सक्छन् । यसले पनि भाउमा करेक्सन ल्याउन सक्छन् । यसका साथै, यदि केन्द्रीय बैंकहरुले मुद्रास्फीतिलाई नियन्त्रण गर्न मन्दीपछि ब्याजदर बढाउँछन् भने पनि सुनको माग प्रायः घट्ने गर्दछ । व्यापार द्वन्द्व र भूराजनीतिक अनिश्चितताका कारण सुन प्रतिऔंस ३ हजार डलर माथि उच्चतम विन्दुमा कारोबार हुन थालेको छ ।

यद्यपि, यदि मन्दीले गम्भीर तरलता तनाव निम्त्यायो वा डलर निकै बलियो बनेर आयो भने सुनले छोटो अवधिको करेक्सन अनुभव गर्न सक्ने देखिन्छ । सुनको भाउ पूर्णरुपमा क्र्यास हुने सम्भावना नभए पनि महत्त्वपूर्ण करेक्सनको सम्भावना भने कायमै रहेको छ ।

-एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार