झण्डै तीन करोड बराबरको सामानसहित तीन जना पक्राउ

0 Shares

काठमाडौं । प्रहरीले दुई करोड ७५ लाख मूल्य बराबरको भन्सार छलेर ल्याएको सामानसहित तीन जनालाई नियन्त्रणमा लिई आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, साविक डराउनेपोखरी गाविस २ घर भई हाल ललितपुर महानगर २१ पाटन बस्ने ३१ वर्षीय कृष्णगोपाल श्रेष्ठ, दोलखा मेलुङ गाउँपालिका ८ बस्ने ६१ वर्षीय हरिबहादुर श्रेष्ठ तथा नुवाकोट, विदुर नगरपालिका १२ बस्ने ४२ वर्षीय पुरुषोत्तम कोइराला रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए ।

उनले भने, ‘यही चैत १ गतेराति काठमाडौं महानगर १५ स्वयम्भूस्थित बा ५ ख ७३१४ नम्बरको गाडीमा भन्सार छलेर औषधि तथा कपडा ल्याएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले बा ५ ख ७३१४ को सवारीसाधनसहित निजहरुलाई नियन्त्रणमा लिएको हो ।’

बरामद गरिएको उक्त सामानसहित निजहरुलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय ललितपुर पठाइएको प्रवक्ता बोहराले बताए ।

सम्बन्धित समाचार