काठमाडौं । सरकारले बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको अध्यक्षमा ओझालाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको नेतृत्वमा गठन भएको समितिले मन्त्रिपरिषदमा तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा ओझासँगै रामशरण पुडासैनी र दामोदर बसौला थिए ।
गत फागुन १० मा कमलप्रसाद रेग्मी र चिरञ्जीवी चापागाईंसहित पाँच जनासँग अन्तर्वार्ता लिइएसकेपछि समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
अध्यक्षमा नियुक्त भएका ओझासँग सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थाकीय तहमा काम गरेको अनुभव रहेको छ ।
भ्रष्ट्राचार मुद्दामा निलम्बनमा परेकै बेला सूर्य प्रसाद सिलवालको कार्यकाल गत माघ १९ गते सकिएको थियो । त्यसलगत्तै, सरकारले पुस ९ गते आयोगका अध्यक्ष छनौट गर्न तीन सदस्यीय समिति बनाएर आवेदन आह्वान गरेको थियो । जसमा १२ जनाले आवेदन दिएका थिए ।
यस्तै, मन्त्रिपरिषद्को बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा भने कुनै निर्णय गर्न नसकेको ती मन्त्रीले बताए । सरकारले उनलाई हटाउने प्रयास गरिरहँदा अब पाँच महिनापछि कार्यकाल सकिँदै छ ।