काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्राप्त उपलब्धिको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने उल्लेख गरेका छन् ।
सहिद दिवसका सन्दर्भमा सन्देश जारी गर्दै उनले देश र जनताको हक अधिकारका लागि विभिन्न समयमा विभिन्न प्रकारका आन्दोलनमा जीवन अर्पण गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे ।
साथै उनले बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दै घाइते योद्धाहरुको स्वास्थ्यलाभको कामना व्यक्त गरेका थिए । माघ १६ नेपाल र नेपालीको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति विशेष सम्मान र स्मरण गर्ने दिन हो ।
राज्यकै तहबाट सहिद दिवस मनाइरहँदा सहिदको योगदानको कदर गर्दै सहिद परिवारहरुको उचित सम्मान, संरक्षण र अभिभावकत्व दिनुमा नै सहिदप्रतिको सच्चा सम्मान हुने उनको भनाइ छ ।