काठमाडौं । नेकपा माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी)को नेतृत्व चयनका लागि निर्वाचन भर्खरै सुरु भएको छ । अखिल क्रान्तिकारीको २३औं सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि आज विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदान हुने भएको निर्वाचन समितिले जनाएको छ ।
कुल २ हजार ३९८ प्रतिनिधिले मतदान गर्नेछन्। चुनाव बिहान ८ बजेदेखि काठमाडौँको विश्वभाषा क्याम्पस र वाल्मीकि क्याम्पसमा सुरु भएको छ । केन्द्रीय अध्यक्षका लागि उपदेश यादव, सुदिन पौडेल, विजयप्रकाश सापकोटा र हेमन्त राई प्रतिस्पर्धामा छन्।यस्तै, महासचिवका उम्मेदवारहरूमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतीक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामकुमार मिजार, सञ्जयकुमार महतो र सञ्जय फुयाँल रहेका छन्। खुला र आरक्षण गरी नौ जना उपाध्यक्ष पदका लागि ४४ जना र महासचिवमा आठ जनाको उम्मेदवारी परेको छ । महासचिवमा पद्मप्रसाद काफ्ले, प्रतीक कार्की, श्यामबहादुर मिजार, रोशन थापामगर, सञ्जीव फुयाल, तिर्सना हमाल, शिव बस्नेत र सञ्जयकुमार महतो रहनुभएको छ ।
यस्तै नौ उपमहासचिवका लागि ३६ जना र १२ सचिवका लागि ५३ जनाको उम्मेदवारी परेको छ । एक कोषाध्यक्ष पदका लागि पार्वता चौलागार्इं, शिव श्रेष्ठ, महेन्द्रबहादुर चन्द र फूलमाया रानामगर रहनुभएको निर्वाचन समितिले जनाएको छ । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद कायम भएपछि विद्यार्थी नेताले आ–आफ्नो गुटबाट प्यालन बनाएर उम्मेदवारी घोषणा गरेका छन् ।