काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ । निर्वाचनमा अध्यक्षका लागि पाँच जनाले प्रतिस्पर्धा गरेका छन् ।
अध्यक्षमा उम्मेदवारी दिनेमा उपदेशकुमार यादव, योगेन्द्रबहादुर बुढा, विजयप्रकाश शर्मा सापकोटा, सुदीन पौडेल र हेमन्त राई छन् । यादव उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पक्षका हुन् । अर्का उम्मेदवार बुढा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा नजिक छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षबाट सापकोटाले उम्मेदवारी दिएका छन् । पौडेल उपमहासचिव वर्षमान पुन पक्षका हुन् भने राई अर्का उपामहासचिव जनार्दन शर्माका नजिक छन् ।
उपाध्यक्षका लागि २० जनाको उम्मेदवारी परेको छ । महासचिवमा ८ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा २४३ जनाको केन्द्रीय समितिमा पदाधिकारी ३३, सचिवालय सदस्य ४८, केन्द्रीय सदस्य १६२ जनाको लागि निर्वाचन हुनेछ ।