म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर डेढ करोडभन्दा बढी गाउँमा भित्र्याएका छन् ।
राखुगाउँका एउटै किसानले पाँच लाखदेखि नौ लाखसम्म सुन्तला बिक्री गरेर आम्दानी गरेका छन् । राखुकी मनकुमारी पुनले यस वर्ष नौ लाखको सुन्तला बिक्री भएको बताइन् ।
अगुवा कृषक पुनले यस वर्ष अन्यत्र जिल्लाबाट आएका व्यापारीलाई बोटबाटै सुन्तला बिक्री गरेको बताए । सुन्तला उत्पादनका लागि जिल्लामै प्रख्यात मानिने तल्लो र माथिल्लो राखुमा रहेका ६५ घरधुरीले यस वर्ष करिब डेढ करोडको सुन्तला फलाएको कृषक खिम पुनले बताए ।
यस वर्ष नयाँ बोटले समेत फल दिएकाले आम्दानी बढेको सुन्तला जोन कार्यक्रमका संयोजकसमेत रहेका खिम पुनले जानकारी दिए । “उत्पादन घटे पनि आम्दानी घटेको छैन, सुन्तला खेतीमा लागेका कृषकले घरआँगनमै लाखौँ कमाएका छन्”, उनले भने ।
राखुबाट सुन्तला खरिद गरी सुर्केमेलाको सडकमा ग्रेडिङ गरी काठमाडौं पठाउन लागेका कृषक पुनले जिल्लामा सबैभन्दा धेरै सुन्तला उत्पादन हुने राखु क्षेत्रको सुन्तला खरिदमा व्यापारीले प्रतिस्पर्धा गर्दा किसानले उचित मूल्यसमेत पाएको बताए ।
परम्परागत खेती लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका राखुका राजेन्द्र रोका र मनबहादुर बुढाथोकीले यस वर्ष नयाँ बिरुवा थपेका छन् । सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गत वर्षदेखि गाउँभरि नै सुन्तलाका थप बिरुवा रोपिएको वडाध्यक्ष पदम पुनले बताए ।