काठमाडौँ । काठमाडौँ महानगरले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई दुई लाख जरिवाना तिराएको छ ।
कामपाको कृषि तथा पशुपंक्षी विभागका निरीक्षक डा. अवधेश झाका अनुसार कामपाको ‘कल सेन्टर’मा आएको गुनासोका आधारमा जरिवाना गरिएको हो ।
बिक्रीका लागि राखिएको खाद्य सामग्रीमा अनुगमन टोलीले अनुगमन गर्दा सुकेको नरिवलमा किरा लाग्नुको साथै ढुसीसमेत परेको फेला परेपछि जरिवाना रकम तिराइएको हो । अनुगमनको क्रममा खान नमिल्ने अवस्थाका ४४ प्याकेट नरिवल व्यवस्थापककै रोहवरमा नष्ट गरी जरीवाना गराइएको हो ।
कामपाको बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ दफा २९ को खण्ड घ र ङ बमोजिम कारबाही गरिएको हो । जरिवाना रकम कामपाको राजस्व खातामा जम्मा गरी अब उप्रान्त खाद्य सामग्री बिक्री वितरण गर्दा उच्च गुणस्तर र खान योग्य वस्तु निश्चित गरेर मात्र बिक्री गर्न निर्देशन दिइएको महानगरले जनाएको छ ।
कामपाले खाद्य स्वच्छता प्रवर्द्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छताः प्रवर्द्धन शिविर (फुड सेफ्टी, बुट क्याम्प) कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ ।