काठमाडौँ । ताप्लेजुङको धार्मिक स्थल पाथीभरामा पछिल्लो सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले पूजा गरेको छन् । सात वर्षको अवधिमा १३ लाख तीन हजार ४९२ जना दर्शनार्थीले पूजापाठ गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिले आर्थिक वर्ष २०७४/७५ देखि २०८०/८१ सम्मको तथ्यांक सार्वजनिक गर्दै सूचाना जारी गरेको हो । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार सात वर्षको अवधिमा कूल १३ लाख तीन हजार ४९२ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।
तथ्यांकअनुसार सबैभन्दा बढी दर्शनार्थी आर्थिक वर्ष २०७९/८० मा आएका छन् । उक्त वर्ष दुई लाख ८३ हजार ९४५ जना दर्शनार्थीले पाथीभरामा पूजाआजा गरेका थिए । पछिल्ला केही वर्षमा दर्शनार्थीको संख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ ।
आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ३१ हजार ३३४ जना तथा आर्थिक वर्ष २०७७/७८ मा दुई लाख १७ हजार ९६१ जना दर्शनार्थीले पाथीभरा पुगेर पूजापाठ गरेको तथ्यांक रहेको छ ।
यस अवधिमा सबैभन्दा कम दर्शनार्थी आर्थिक वर्ष २०७५/७६ मा आएका छन् । उक्त वर्ष एक लाख एक हजार ६०५ जना दर्शनार्थीले मन्दिर दर्शन गरेका थिए । कोरोना महामारीका कारण केही वर्ष दर्शनार्थीको आगमनमा कमी देखिएको भए हाल स्थिति सामान्य हुँदै गएको छ ।
पैदल मार्गलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा पानी र हिउँबाट जोगिने फाइबर छाना राखिएका छन् । काफ्लेपाटीसम्मको मार्गलाई फाइबर छाना ओढाउने योजना अझै पूरा हुन बाँकी छ ।
पाथीभरा मन्दिर धार्मिक आस्थाको प्रतीक मात्र होइन, प्राकृतिक सौन्दर्य र साहसिक यात्राको केन्द्र हो । प्रत्येक वर्ष लाखौँ श्रद्धालु पूजाआजा गर्न आउने गरेकाले यस क्षेत्रले स्थानीय पर्यटन र अर्थतन्त्रलाई उकास्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
सुविधा थप व्यवस्थित र प्रचारप्रसार व्यापक बनाए पाथीभरा धार्मिक मात्र नभई विश्व पर्यटनको महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना छ ।