काठमाडौँ । अमेरिकामा श्रीमतीको हत्या गरी शव लुकाएको आरोपमा नरेश भट्टविरुद्ध मुद्दा दर्ता हुने भएको छ । उनीमाथि नर्स श्रीमती ममता काफ्लेको हत्या गरेर शव लुकाएको आरोप छ ।
गत जुलाईको अन्त्यतिर श्रीमती ममताको हत्या गरेका नरेशले शव लुकाएको आरोपमा अदालतमा बहस हुने समाचारमा जनाइएको हो । नरेशलाई मंगलबार अदालतमा पेस गरिने भएको हो ।
नरेशले जुलाई ३० मा ममताको हत्या गरेको मानसास पार्क प्रहरीको दाबी छ । उनीहरू बस्दै आएका घरको कोठामा फेला परेको रगतको डीएनए जाँच गरिएको थियो । उक्त डीएनए ममताकै भएको मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोले जनाएका छन् ।
ममताको हत्या भएको पुष्टि भए पनि शव फेला पर्न सकेको छैन । यसबारे उनका श्रीमान नरेशले अस्वीकार गर्दै आएका छन् । शवको खोजी निरन्तर हुने प्रहरीले जनाएको छ ।
प्रिन्स विलयम मेडिकल सेन्टरमा नर्सका रूपमा काम गर्ने ममता अन्तिमपटक जुलाई २७ मा अस्पताल पुगेकी थिइन् । लामो समय अस्पताल नगएपछि उनका सहकर्मीले प्रहरीलाई खबर गरेका थिए ।
प्रारम्भिक अनुसन्धानपछि ममतालाई बेपत्ता पारेको अभियोगमा प्रहरीले नरेशलाई २२ अगष्टमा पक्राउ गरेको थियो । त्यसयता उनी प्रहरी हिरासतमा छन् ।
अनुसन्धानपछि ममताको हत्या गरेर नरेशले आफै शव लुकाएको प्रमाण अदालतमा पेस गरिएको थियो । सीएनएनबाट