काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको आवश्यकतालाई दृष्टिगत गरी वर्तमान सरकारले काम गरिरहेको बताएका छन् ।
छैटौं अध्यक्ष कप तथा खेलकुद महोत्सवको शुक्रबार उदघाटन गर्दै सञ्चारमन्त्री गुरुङले सरकार टुलुटुलु हेरेर नबसेको भन्दै काम गर्नकै लागि प्रमुख दुई दलको सहकार्य भएको बताएका हुन् ।
राजनीतिक क्षेत्र, आर्थिक क्षेत्र, सामाजिक क्षेत्रमा जुन समस्या आयो, देशको समृद्धिका लागि दुई ठुला दल मिल्नुपर्ने बाध्यता आएको बताए । नेपाली काँग्रेस र एमाले मिलेर पञ्चायत तथा राजतन्त्र फालेको र राजतन्त्र फाल्न माओवादीको समेत साथ रहेको बताउँदै मन्त्री गुरुङले मुख्य समस्या समाधानमा ठुला दल मिलेको इतिहास रहेको स्मरण गरे ।
प्रमुख दुई दलविच अनेक असमझदारी रहे पनि देश बनाउन दुई दल एक ठाउँमा आएको उनको भनाई छ । प्रमुद दुई दलको सहकार्यमा सरकार बनेकाले २०८४ सम्म दुई दलकै आलोपालो सरकार चल्ने उनले प्रष्ट पारे । पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको र अर्को सरकार काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने उनले जानकारी दिए ।
संविधानका केही मूलभूत कुरा बाहेक अन्य आवश्यक विषय संशोधन हुने बताउँदै मन्त्री गुरुङले सविधान संशोधन आवश्यकताअनुसार सबै दलसँग परामर्श गरी गरिने प्रष्ट पारे । सहकारी ठगीमा आफ्नालाई छाड्ने अरुलाई कारवाही गर्ने काम नभएको बताउँदै मन्त्री गुरुङले त्यसको जिम्मा राजनीतिक दलको नभई अदालतको भएको बताए ।
प्रधानमन्त्रीको चीन भ्रमणमा यसअघि भएको सम्झौताको पुनर्ताजगी गर्ने बताउँदै ऋण लिने काम भने नहुने बताउनुभयो । प्रतिशोधको रााजनीति नभई सुशाासन कायम गर्न अहिले सरकार लागिपरेको बताए ।
रास्वपा पार्टी हिजोको विवेकशील पार्टीजस्तै हुने बताउँदै मन्त्री गुरुङले नीति एजेण्डा केही नभएका पार्टीहरुले जनताको पक्षमा काम गर्न नसक्ने बताए । वर्तमान सरकार देश र जनताको पक्षमा केन्द्रित भएर काम गरिरहेको दाबी गरे ।