काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइ टीकाको साइत सार्वजनिक गरेको छ ।
कार्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइ टीकाको साइत शुभ रहेको समितिले जनाएको छ । आज बसेको समितिको बैठकले टीकाको साइत निकालेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।
जसअनुसार पश्चिम मोहडा गरेर भाइ टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नु पर्ने जनाइएको छ ।
यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ ।
यमदीपदान १४ गतेदेखि बुधबार परेको छ । काग तिहार पनि बुधबार नै मनाउनु पर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार मनाइन्छ ।
कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मी पूजा कात्तिक १५ गते बिहीबार मनाउनु पर्छ । कात्तिक १६ गते शुक्रबार औँशी परेको छ । त्यस दिन तिहारको कुनै पर्व नपरेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कात्तिक १७ गते शनिबार गाई गोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हली तिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ ।
कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ ।