ड्रागन खेतीमा जमेका लाहुेरहरू

0 Shares

काठमाडौँ । २८ वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किए । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन ।

२१ वर्षअघि मलेसियाका साथीले नेपाल आउँदा ल्याइदिएको विरुवाले यसरी फल दिन्छ भन्ने उनले सोचेका थिएनन् । ड्रागन फलको त्यही विरुवाबाट अहिले उनी यसको व्यावसायिक खेतीमा क्रियाशील भएका छन् । सुरुमा उनलाई थाहा थिएन, यो फल यत्ति महंगो र स्वास्थ्यका लागि लाभदायी हुन्छ भनेर ।

अन्य फलको तुलनामा यसको मूल्य निकै रहेकाले उनी यसतर्फ आकर्षित बने । व्यवसाय सुरु गर्दा स्थानीय बजारमाह प्रतिकेजी एक हजार दुई सयमा बिक्री वितरण हुने थाहा पाएपछि उनी निकै हौसिएका थिए ।

अहिले उनलाई आफूले उत्पादन गरेको ड्रागन फलको बजारीकरणमा कुनै समस्या छैन । भाटभटेनी सुपरमार्केसँग समन्वय गरी बिक्री गरिरहेका छन् ।

केही वर्षअघि रामधुनी नगरपालिका ७ रानीपोखरीमा किनेको एक बिघा जग्गा त्यत्तिकै उपयोगविहीन थियो । त्यही जग्गामा दुई सय वटा ड्रागनको बिरुवा लगाएर खेती सुरु गर्ने निधो गरे ।

सुरुमा उनलाई धेरैले गलत निर्णय गरेको भन्दै आलोचना नगरेका होइनन् तर उनी आफ्नो योजनामा प्रष्ट थिए । त्यतिबेला पूर्वमा ड्रागन खेती गर्नेको संख्या थोरै थिए । कोहीले घरको छत र बारीमा दुई चार बोट मात्रै लगाएका थिए ।

उनले भने, ‘‘राम्रो उत्पादनसंँगै आम्दानी पनि राम्रो हुने गरेको छ, अहिले वार्षिक ५० लाख सजिलैले आम्दानी हुने गरेको छ, खेतीमा मल, कर्मचारी खर्च सबै गरी वार्षिक १२ लाख जति खर्च हुन्छ ।’

फलसँगै उनले विरुवा बिक्री गरेर पनि राम्रो आम्दानी हुने गरेको बताए । बिरुवा मात्र बेचेर उनले वर्षमा दुई लाख बढीको आम्दानी गर्दै आएका छन् ।

सुनसरीको तरहरामा जन्मिएका भारतीय पूर्वलाहुरे कृष्णकुमार घले १७ वर्ष भारतीय सेनामा बिताए । ०७४ सालमा निवृत्त भई नेपाल फर्किए उनी ।

उनले नेपाल फर्केपछि बाँकी समय किन त्यत्तिकै खेर फाल्ने भन्ने सोचले व्यवसाय गर्ने निधो गरे । सुरुमा उनले सुनसरीको रामधुनी नगरपालिका ७ रानीपोखरीमा कागती खेती सुरु गरे । दुई वर्षजति कागती खेतीमै बित्यो ।

पछि कागती खेतीबाट भने जस्तो आम्दानी हुन नसकेपछि पूरै एक विघा जग्गामा सुरु गरेको कागती खेतीमा डोजर लगाए ।

०७५ फागुनमा तमु कृष्ण बहुद्देश्यीय कृषि फार्म दर्ता गरेर एक बिघाको पूरै जमिनमा ड्रागन खेती सुरु गरेको उनी बताउँछन् । कागती खेतीको तुलनामा अहिले ड्रागनबाट राम्रो आम्दानी भइरहेको उनको भनाइ थियो ।

वार्षिक ४० लाख बढी आम्दानी हुन्छ भने १० लाख जति खेतीमा मल, काम गर्ने कर्मचारीलाई गरेर वार्षिक खर्च हुने गरेको उनले बताउँछन् ।

बिक्रीका लागि धेरैजसो इटहरी, धरान, विराटनगरमा मात्र नभई काठमाडौँ, पोखरासम्म बिक्रीका लागि पठाउने गरेको उनले बताए । यो फल फूल फुल्न सुरु गरेको ४५ दिनमा फल पाक्ने हुँदा वार्षिक रुपमा सजिलैसँग १६ देखि २० मेट्रिक टनसम्म उत्पादन हुने गरेको भनाइ थियो ।

सम्बन्धित समाचार