काठमाडौँ । व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा लिएपछि एसियाली बजारमा शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० अमेरिकी डलरभन्दा माथि पुगेको छ ।
इजरायलले हमासका प्रमुख याह्या सिनवारको हत्या गरेको बताएपछि मध्य पूर्वलगायत क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका बीच व्यापारीले सुनलाई सुरक्षित सम्पत्तिको रूपमा कारोबार गर्दा सुनको मूल्य ह्वात्तै बढेको हो ।
एसियाली बजारमा शुक्रबार सुनको प्रारम्भिक मूल्य दुई हजार ७०४.८९ अमेरिकी डलरको सर्वकालिक उच्च बिन्दुमा पुगेको थियो । बिहीबार सुनको मूल्य प्रति आउन्स दुई हजार ६८८.८३ डलर कायम भएको थियो ।
इजरायलले गाजामा हमास र हालै दक्षिणी लेबनानमा हिजबुल्लाहसँग लडिरहेको बेला मध्यपूर्वको संकटलाई लिएर सुन बजार प्रभावित भएको हो ।
केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने उपाय अपनाउँदा यस वर्षको सुरुदेखि सुनको मूल्यमा ३० प्रतिशतको हाराहारीमा वृद्धि हुन पुगेको थियो । मूल्यमा देखिएको निरन्तरको वृद्धिले सुन लगानीकर्ताका लागि थप आकर्षक सम्पत्ति बनेको छ ।
युक्रेनमा लामो समयदेखि चलिरहेको युद्धले व्यापारीहरूमा सुरक्षित लगानीको चाहना बढ्नुलाई स्वभाविक मानिएको छ । यसका आधारमा विश्व बजारमा सुनको मूल्य थप बढ्ने देखिएको छ ।
नेपाली बजारमा पनि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आज नयाँ उचाइमा पुगेको हो ।
बिहीबार प्रतितोला एक लाख ६२ हजार चार सयमा कारोबार भएको सुन आज एक लाख ६४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।