काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।
बुधबार काठमाडौँमा नवनिर्वाचित केन्द्रीय सदस्यलाई पत्र प्रदान गर्दै लिङ्देनले संविधान दिवसका समयमा आफूलाई राज्यले निगरानीमा राखेको खबर पाएको भन्दै पक्रेर देखाउन चुनौती दिएका हुन् ।
अहिलेको संविधानले व्यवस्था गरेको संघीयता, धर्म निरपेक्षताको विरोधी र विपक्षी रहेको बताउँदै उनले कुनै अराजकतामा आफ्नो भविष्य नखोजेकाले संयमता अपनाइरहेको धारणा राखे ।
‘अहिलेको संविधान जति परसम्म बोकेर लगिन्छ, त्यति नै जनताले दुःख पाइराख्ने छ,’ उनले भने, ‘हिजो र आजका राम्रा कुरालाई समेटेर अघि बढ्नुको विकल्प छैन ।’
राप्रपाले नवीन राप्रपा कार्य योजनाअन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्य समितिमा लैजाने निर्णय गरेअनुसार १० पुरुष र १० महिलालाई पार्टीको केन्द्रीय सदस्य लगेको थियो ।