मनकामना केबुलकार अब डिजिटल प्रणालीमा, असोजदेखि पुनः सञ्चालन हुने

0 Shares

काठमाडौँ । देशकै पहिलो केबुलकार सेवा अत्याधुनिक डिजिटल डी-कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शन प्रा.लि.ले चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको केबुलकारको दुई महिना लगाएर स्तरोन्नति गरिएको हो ।

अष्ट्रियाको प्रख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इञ्जिनियर तथा प्राविधिकको सहभागिता र सुपरिवेक्षणमा केबुलकारको स्तरोन्नति सम्पन्न भएको हो । गत असार ३१ गतेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

करिब ५० करोड लगानीमा स्तरोन्नति सकिएसँगै मनकामना केबुलकार असोज १ गते मंगलबारदेखि सुरु हुँदैछ । मनकामना केबुलकार देशकै पहिलो यात्रुबाहक केबुलकार सेवा हो ।

प्रतिष्ठित उद्यमी लक्ष्मणबाबु श्रेष्ठको लगानीमा निर्माण भएको केबुलकार २०५५ मंसिर ८ गते सञ्चालनमा आएको थियो । केबुलकार सेवाको सफलताले स्वदेशी उद्यमी व्यवसायीलाई केबुलकारमा लगानी गर्न प्रोत्साहित गर्दा अहिले देशमा दर्जनौँ केबुलकार सेवा सञ्चालनमा आइसकेका छन् ।

मनकामना दर्शन प्रा.लि. पर्यटन क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा नेपाल सरकारबाट पटक-पटक सम्मानित भएको छ । मनकामनाले सेवा सुरु गरेको २६ वर्षपछि केबुलकारको मुख्य लठ्ठा फेर्ने र डिजिटल डी-कनेक्ट प्रणालीमा स्तरोन्नति गर्ने काम सम्पन्न भएको हो ।

हालसम्म केबुलकार एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको थियो । कम्पनीले आफ्नो सेवालाई समय र प्रविधिमा आएको परिवर्तनअनुरुप स्तरोन्नति गरेको हो । यो क्रम आगामी दिनमा पनि जारी राख्ने कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठ बताए ।

सम्बन्धित समाचार