काठमाडौं । नेकपा एमाले अध्यक्ष एवंप्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीका ठगहरुलाई नछोडिने बताएका छन् । पार्टी पोलिटब्यूरो सदस्यहरुलाई च्यासलमा सम्बोधन गर्दै ओलीले सहकारीका ठगहरुलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएका हुन् ।
ओलीको भनाईं उल्लेख गर्दै एक नेताले भने, ‘सहकारी ठगहरुलाई छोडिदैन । ठगहरुमाथि कानुन बमोजिम कारबाही हुन्छ । पीडितहरुले न्याय पाउनेछन् भन्नेमा विस्वस्त छु ।’
प्रधानमन्त्री ओलीले पार्टीका नेता कार्यकर्तालाई काठमाडौमा नबसेर गाउँघर गएर पार्टी काममा सक्रिय भई लाग्न निर्देशन दिएका छन् । ‘अहिले पनि हामी राष्ट्रिय शक्ति हौं, तर चुनावपछि निर्णायक राष्ट्रिय शक्ति बन्ने हो’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै पोलिटब्यूरो सदस्य विशाल भट्टराईले भने । भट्टराईका अनुसार अध्यक्ष ओलीले निर्णायक राष्ट्रिय शक्ति बन्न तीन वर्षसम्म नेताहरुले आ–आफ्नो क्षेत्रमा ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।
कतिपय नेताहरुमा काठमाडौं बस्ने र नेतृत्वलाई कुरा लगाउँदा हुन्छ भन्ने भ्रम रहेको ओलीले बताए । ‘सबै आफ्नो कार्य क्षेत्र जानु होला । काठमाडौं बसेर नेताको वरिपरी घुमेर हुँदैन । धेरैले मलाई कुरा लगायो भन्नु हुन्छ, त्यस्तो होइन । मसँग सुन्नलाई कान मात्र छैन, खोपडी पनि छ, विवेक छ’ अध्यक्ष ओलीले भने ।
ओलीले वाम एकता राम्रो सुनिए पनि त्यसमा षड्यन्त्र र दाउपेच हुने गरेकाले कुनै अर्थ नभएको बताएका छन् । प्रचण्डले समाजवादी मोर्चामा सामेल हुन आग्रह गर्दा समत सहभागी नभएको बताउँदै ओलीले सत्ताबाट बाहिरएपछि बरबराउन थालेको आरोप लगाए ।