काठमाडौं । सहकारीको बचत रकम दुरुपयोग छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग शुक्रबार राति १ बजेसम्म बयान लिएको छ ।
पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेसँग समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ४ बजेदेखि शुरु भएको बयान राति १ बजेसम्म चलेको समितका सभापति सूर्य थापाले बताए ।
तत्कालीन गोरखा मिडिया नेटवर्क प्रा.लि.का प्रबन्ध निर्देशकको हैसियतले ९ घण्टासम्म लिइएको लामिछानेसँग बयान लिँदा ५१ वटा प्रश्न सोधिएको थियो । उनलाई सोधिएका तथ्य र प्रमाणसहितको प्रश्न स्वीकार गरे ।
अधिकांश प्रश्नमा लामिछानेले थाहा छैन, थाहा भएन, मेरो संलग्नता छैन, जीबी राईलाई थाहा होला भन्ने जवाफ दिएका थिए । लामिछानेले आफू प्रबन्ध निर्देशक हुँदा कार्यक्रम सञ्चालन र उत्पादनमा मात्रै केन्द्रित भएको र कम्पनीको आर्थिक विषयमा जानकारी नरहेको दाबी गरे ।