काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै भाषाभाषीले एक अर्कालाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव हुने बताएका छन् । जयतु संस्कृतमा संस्थाद्वारा शीतल निवासमा शुक्रबार आयोजित पुरस्कार वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“कुनै भाषाले कुनै भाषालाई निषेध गर्नु हुँदैन, सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव छ,” उनले भने ।
आज संस्कृतको लोकप्रियता नेपाल र भारतमा मात्र नभएर विश्वमा नै बढ्दै गएको पाइन्छ भन्दै उनले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठनपाठन हुनुले यसको महत्वलाई दर्शाउने बताए ।
“संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञानविज्ञानको भण्डार हो, यो भाषा र वाङ्मयको विस्तार आवश्यक छ”, राष्ट्रपति पौडेलले भने । यस अवसरमा राष्ट्रपति पौडेलले प्राध्यापक नीलमणि ढुङ्गाना र आचार्य पूर्णचन्द्र ढुङगेललाई पुरस्कार प्रदान गरे ।
साथै, राष्ट्रपति पौडेलले प्रा.डा. ऋषिराम पोखरेल, प्रा.डा. दीर्घराज घिमिरे, प्रा.डा. रामचन्द्र गौतम, प्राध्यापक गोविन्द चौधरी र प्राध्यापक चेतोनाथ आचार्यलाई अभिनन्दन गरेका थिए ।