काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पदमा बस्न नमिल्ने भन्दै उजुरी परेको छ । उनीविरुद्ध युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका हुन् ।
बिहीबार सफलले राष्ट्रमन्त्री राणा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी प्रकरण र टीकापुर जग्गा अनियमिततामा जोडिएको दाबीसहित उजुरी दर्ता गराएका हुन् ।
डा. राणाले आफूमाथि लाग्दै आएको आरोपमा अदालतबाट सफाइ नपाउँदासम्म नैतिक आधारमा पदमा बस्न नमिल्ने सफलले दायर गरेको उजुरीमा उल्लेख छ । उनले राणालाई नैतिकताको आधारमा राजीनामा दिन लगाएर तत्काल अनुसन्धान गर्न अख्तियारलाई आग्रह गरेका छन् ।
उजुरीमा भनिएको छ, ‘परराष्ट्र मन्त्री आरजु देउवा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी र टीकापुर जग्गा अनियमितता प्रकरणमा जोडिएको देखिन्छ, मन्त्री हुन उच्च नैतिकता हुन पर्ने हुँदा उहाँले उल्लेखित प्रकरणमा अदालतबाट सफाई नपाउँदासम्म पदमा बसी राख्न मिल्दैन ।’
यस्तै, उनले तत्काल आरजुलाई राजीनामा दिन लगाएर अनुसन्धानका लागि बाटो खुला गर्नु पर्ने उल्लेख गरेका छन् । उनले तत्काल अनुसन्धान गर्न आयोगको ध्यानाकर्षण गराउन चाहेको बताएका छन् ।
युवराजले आरजुमाथि अनुसन्धान नगरे आफू सर्वोच्च अदालत पुग्ने बताएका छन् । ‘यदि, यस उजुरी उपर कारबाही नगरे सम्मानित सर्वोच्च अदालतसम्म जाने जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन् ।
यसअघ िउनले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध उजुरी दर्ता गरेका थिए । सहकारीको रकम हिनामिना गरी गृहमन्त्री बनेको भन्दै उनले उजुरी दर्ता गराउँदा लामिछानेले पद गुमाउन पुगेका थिए ।