सरकारले चलाएका उद्योगहरु घाटामा जान हुँदैन : ओली

0 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थानहरु घाटामा जान नहुने बताएका छन् । सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा बुधबार भएको ब्रिफिङमा ओलीले उद्योगका लागि सडक बाटो, बिजुलीलगायतका पूर्वाधारका वातावरण तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरेका हुन् ।

‘साना साना लगानीमा धेरै कृषिमा आधुनिकीकरण र स्टार्टअप उद्योगहरु खोलेर बेरोजगारीलाई रोजगारी दिन सकिन्छ । उत्पादन बढाएर आयात विस्थापन गर्न सकिन्छ’ ओलीले भने, ‘नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौँ । डुुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ ।’
प्रधानमन्त्री ओलीले मद्यमान र धूमपानसँग सम्बन्धित उद्योगलाई भन्दा रोजगारी सृजना गर्ने र समाजलाई सभ्य तथा स्वस्थ्य बनाउने खालका उत्पादनमा जोड दिन आग्रह गरेका छन् । उद्योगहरुका नाममा भएका बेथिति रोक्न र राम्रा काम गर्नेलाई संरक्षण गर्न ओलीले निर्देशन दिएका छन् ।

उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको छलफलमा प्रधानमन्त्री ओलीले खनिज र पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन् कार्यलाई निरन्तरता दिँदै यसका आधारमा विकास गर्न सकिने उद्योगको योजना ल्याउन आग्रह गरेका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले शिक्षा, सञ्चार, पर्यटन, स्वास्थ्य, कृषि मन्त्रालयसँग सम्बन्धित विषय र सुधारका योजनाका विषयमा सम्बन्धित मन्त्री र सचिवसँग बेग्ला बेग्लै ब्रिफिङ लिइ सकेका छन् ।

सम्बन्धित समाचार