काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्वले नेकपा एमाले भड्किएको बताएका छन् ।
बुधबारदेखि सुरु भएको बागमती प्रदेश स्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘आरजु राणालाई भारतले प्रधानमन्त्री तहको ट्रिट दियो, यसले एमाले बिच्किएको छ ।’
परराष्ट्रमन्त्री आरजु पाँच दिने भ्रमणका लागि भारतमा छिन् । यस क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि उच्च तहका नेताहरूसँग भेटवार्ता गरेकी थिइन् । मूलतः स्वास्थ्य उपचारका लागि उनी भारतमा पुगेकी थिइन् ।
गत असार १७ गते राति प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र एमालेले सात बुँदे सहमति गरी सरकार गठन गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा आरजु परराष्ट्र मन्त्रीको जिम्मेवारीमा छिन् ।