काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू सरकारमा झण्डा हल्लाउन मात्रै नआएको बताएका छन् । ‘स्टार्ट अप नेसन २०३०’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरू काम गर्न सरकारमा आएको दाबी गरे ।
यस क्रममा प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री बन्न मन नलागे पनि केही गर्न जिम्मेवारी आएको बताए । ‘हामी सरकारमा झण्डा हल्लाउन आएका होइनौँ,’ उनले भने, ‘यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन, केही गर्नका लागि जिम्मेवारीमा आएको हुँ ।’
यस्तै, उनले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले काम गरी स्वदेशमै रोजगारी र आयका अवसर खोज्नु पर्ने बताए ।
उनले भने, ‘हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता वृद्धि गर्नु पर्ने छ, सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनु हुन्न, यसलाई अभियानका रूपमा लानु पर्छ ।’
सम्बोधनका क्रममा उनले केही ठग तत्वहरू सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे बताए ।