नेताको स्वार्थमा बनेको गठबन्धन सरकार टिक्दैन- प्रभु साह

0 Shares

सर्लाही । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने दाबी गरेका छन् ।

आजपाको सर्लाही जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले आम जनादेश विपरीतको सिमित नेताको स्वार्थमा बनेको कांग्रेस र एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने बताएका हुन् ।

‘यो दुई दलीय गठबन्धन धेरै दिन टिक्दैन्, यो गठबन्धन जनादेश विपरीतको छ, केही सिमित नेता जीको स्वार्थका लागि बनेको गठबन्धन हो, वास्तवमा यो गठबन्धन होइन ठगबन्धन हो,’ उनले भने, ‘केही सिमित नेताको स्वार्थका लागि बनेको दुई दलीय गठबन्धनको सरकार धेरै दिन टिक्दै टिक्दैन् ।’

भ्रष्ट नेताहरूको अन्त्य र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको विकल्प नभएको बताउँदै उनले दलाल दलतन्त्रविरुद्ध जनआन्दोलनको तयारीमा जुटन आह्वान गरे ।

लुटेरा र भ्रष्ट नेताहरुको अन्त्य हुनै पर्ने बताउँदै उनले अब देश लुट्ने नेताहरूलाई राज्यले कारबाही गर्न नसकेकाले जनताले जनकारबाही गनु पर्ने बताए ।

यसै क्रममा उनले देशमा लोकतन्त्र कमजोर भएको बताएका थिए । उनले दलाल दलतन्त्रका कारण अहिले युवाहरू देशमै रोजगार नपाउने अवस्था आएको बताए । उनले भने, ‘लोकतन्त्रलाई पार्टीका नेताहरूले मिलेर मासे र दलतन्त्र ल्याए, आज दुई दल मिलेर त्यही दलतन्त्र मास्न लागिरहेका छन् ।’

अर्का नेता डा. नवलकिशोर साहको अध्यक्षतामा सम्पन्न भेलामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, महासचिव त्रिभुवन साह, उपमहासचिव चन्द्रभूषण साह सचिव उमेश कुशवाहाको उपस्थिति थियो ।

 

सम्बन्धित समाचार