काठमाडौँ
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टिआरसी) विधेयक सांसदबाट पारित गर्ने भएपछि शीर्ष नेतृत्वहरुले संसदमा सम्बोधन गर्नुहुने भएको छ ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठक टिआरसी विधेयक माथिको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने तयारी गरिएको हो ।
प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको टिआरसी विधेयक, २०७९ छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ । सबै नेताहरूले सम्बोधन गरिसकेपछि आज नै उक्त विधेयक पारित गर्ने तयारी छ । समितिको प्रतिवेदनसहितको विधेयक मङ्गलवार नै संसदमा पेस भएको थियो ।
यसअघि दलहरूबिचको विवादका कारण रोकिएको विधेयक राजनीतिक सहमति भएसँगै पारित हुने चरणमा पुगेको हो । तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले गत असार १३ गते विधेयकमा सहमति गर्न काँग्रेस, एमाले र माओवादी सम्मिलित तीन सदस्यीय कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको सहमति अनुसार तयार भएको प्रतिवेदनसहित विधेयक संसदमा पेस भएको थियो ।