ओलीले जनयुद्धलाई ‘हिंसात्मक द्वन्द्व’ उल्लेख गरेपछि माओवादी नेता आक्रोशित

0 Shares

 
काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धलाई ‘हिंसात्मक द्वन्द्व’ उल्लेख गरेपछि माओवादी केन्द्रका नेताहरू आक्रोशित भएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टिआरसी) विधेयक कार्यदलले बुधबार प्रधानमन्त्री सहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाएपछि ओलीले सामाजिक सञ्जाल फेसबुकमा उक्त शब्द राखेर उल्लेख गरेपछि माओवादी नेताहरू चिढिएका हुन् ।

ओलीले हिंसात्मक द्धन्द्धलाई अन्त्य गरी बृहत् शान्ति सम्झौता भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा बुधबार मुख्य दलहरूबिच सहमति भएको उल्लेख गरे । ‘संसद्को यसै अधिवेशनबाट विधेयक पारित भएपछि त्यस अनुरूपका आयोग बन्नेछन् र पीडादायी विगतलाई हामी शान्तिमा बदल्ने छौँ। नेपाललाई शान्त बनाउन सबै पक्षको साथ र सहकार्य जरुरी छ । सहकार्यका साथ हामी अघि बढ्ने छौँ’ उनले लेखे । ओलीले सामाजिक सञ्जालमा शब्द सहित फोटो राखेर पोस्ट गरेपछि माओवादी नेता कार्यकर्ताले सामाजिक सञ्जालबाटै प्रतिवाद गरेका हुन ।

माओवादी नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले संविधानले सशस्त्र विद्रोह भन्छ, देशका बहाला प्रधानमन्त्रीले यस्तो असंवैधानिक भाषा बोल्न मिल्दैन भन्दै तुरुन्त फिर्ता लिन आग्रह गरे । नेता सापकोटाले कि तपाई झापामा घर झगडामा मान्छे काटेर १४ वर्ष ज्यानमारा मुद्दामा जेल बसेको थिए भनेर स्वीकार गर्नुहोस् भन्दै चेतावनी दिए ।
यस्तै माओवादीकै अर्का नेता जगप्रसाद शर्मा ‘अपार’ले हिंसात्मक द्वन्द्व नभएर महानजनयुद्ध भएको जिकिर गरे । संविधानको प्रस्तावनामै पनि सशस्त्र सङ्घर्ष उल्लेख गरेकाले संविधान निर्माण,सेना समायोजन र शान्ति प्रक्रिया सङ्घीय लोकतान्त्रिक गणतन्त्रका तीन पिलर भएको बताए । परिवर्तनको निम्ति भएको महान् आन्दोलनलाई होच्याएर,अपमानित गरेर यो व्यवस्थाको कसरी सम्मान हुन्छ भन्दै उनले प्रश्न गरे । अरु माओवादी नेताहरुले समेत ओलीको उक्त शब्दप्रति आपत्ति जनाएका छन् ।

सम्बन्धित समाचार