काठमाडौं । चितवनको भरतपुर महानगर २९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका दुई वटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ ।
दुर्घटनामा परी बेपत्ता भएकामध्ये दुई यात्रीको शव भारतको चम्पारण नागाहास्थित नारायणी नदीमा फेला परेपछि २३ जनाको शव फेला परेको हो ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले बिहीबार फेला पारेका दुई शव सीमा सुरक्षार्थ खटिइएको सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोष्ट’ (बीओपी) त्रिवेणीको टोली, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा नेपाल ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्यांकअनुसार शुक्रबार बिहान ११ बजेसम्म मृतकमध्ये १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत हुन सकेको छैन ।
सनाखत हुनेमा चितवनको माडी नगरपालिका १ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा नगरपालिका ३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगर २२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर गाउँपालिका ६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटको चन्द्रपुर नगरपालिका १० का बस चालक ४३ वर्षीय किशोरकुमार चौधरीको शव सनाखत भएको छ ।
यस्तै, रौटहटको गरुडा नरपालिका ९ का नौ वर्षीय अशोककुमार यादव, रौतहटको परोहा नगरपालिका ६ का ४० वर्षीय ऋषिकुमार सिंह, सर्लाहीको रामनगर गाउँपालिका ३ का जितेन्द्रराम महरा, पर्साको सखुवा प्रसौनी गाउँपालिका २ का २८ वर्षीया चन्द्रप्रभा कुमारी र रौतहटको बौधिमाई नगरपालिका ७ का २९ वर्षीया अमृता कुमारीको शव सनाखत भई आफन्तले बुझी लगेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
उनका अनुसार शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा, त्रिवेणी व्यारेज क्षेत्रलगायत घटनास्थलबाट तटीय क्षेत्रमा फेला परेका हुन् ।
यसैगरी, भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह र २७ वर्षीय विवेक कुमार, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको शव आफन्तले बुझेका छन् ।
गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बसबाट हाम्फालेर बाँच्न तीनमध्ये रौतहटको गरुडा नगरपालिका ९ का जुगेश्वरराय यादव र सरोजकुमार गुप्ता उपचारपश्चात् घर फर्केका छन् भने रौतहटका देवाही बनाही नगरपालिका १० का नन्दन दासको उपचार भइरहेको छ ।