काठमाडौं । झापाको कनकाई नगरपालिका २ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका ५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
सोमबार बेलुका कनकाई २ पवित्रा पेट्रोल पम्प नजिक पूर्व पश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को १९ प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
खलासी (कण्डक्टर)ले बस चलाउँदा दुर्घटना भएको बसका चालक र सहचालकले प्रहरी समक्ष बयान दिएका छन् । उक्त दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाँचिएको थियो । टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।
घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक इलाम माई नगरपालिका ८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका २ का १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको छ ।
बेलबारीबाट उक्त बस शिवसताक्षी नगरपालिका-६ का २७ वर्षीय बसका कण्डक्टर पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको जनाइएको छ ।