दुई वटा बससहित यात्रु त्रिशूलीमा बेपत्ता, दिनभरि खोज्दा कपडामात्रै फेला

0 Shares

काठमाडौं । शुक्रबार बिहान उठ्नासाथ सबैले एउटा भयानक र दुःखद् घटनाको समाचारमा सुने । बिहान करिब ३ बजे पहिरोमा परी चितवनको भरतपुर महानगर २९ मा पर्ने सिमलतालमा कल्पना गर्न नसक्ने दुर्घटना भएको थियो ।

काठमाडौंमा आफ्नो काम सकेर घर फर्किंदै गरेका यात्रु चढेको बस र काठमाडौं भित्रिदै गरेको अर्को यात्रुबहाक बस पहिरोसँगै आएको लेदोले त्रिशूली नदीमा खस्यो । दुई वटा बस खसे पनि जोगेश्वर राय, नन्दन दास र सुरज गुप्ता ठूलो भाग्यले बाँचे ।

तर, यति ठूलो विपत्तिमा आफूसँगै भएका परिवार बचाउन सकेनन् । जोगेश्वरले भने, ‘बसमा छोरा, जेठी छोरी र एक एक जना नाति र नातिनी थिए, पाँच जनामा चार जना सबै खतम भए ।’

जोगेश्वरले मात्रै होइन उनीजस्तै नन्दन र सुरजले पनि नयाँ जीवन पाए । तर, कहिले नबिर्सिने गरी छाप छाडेर गए ।

नन्दन भन्छन्, “बच्ने हो भगवान्‌ले बचायो भनेर पौडी खेलिरहेको थिएँ, भित्र जाँदै छु कि बाहिर आउँदै छु भन्ने पनि थाहा थिएन, तर किनारमै आइपुगेँ ।”

घटनामा तीन जनाले आफ्नो ज्यान जोगाए पनि बाँकी केही जानकारी पाउन सकेको छैन । त्रिशुली नदीमा खसेको दुई वटा बससँगै करिब चार दर्जनभन्दा बढी यात्रुको कुनै नाम निशाना फेला पार्न सकेको छैन ।

घटना भएसँगै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज दिनभर खोजी कार्य गरेको थियो ।

घटनामा बेपत्ता भएको यात्रुहरू र दुई बसको खोजी गर्न सशस्त्र प्रहरी बलका २८ गोताखोरसहित पाँच सय सुरक्षाकर्मी परिचालन भएका थिए । तर, केही थान कपडाबाहेक केही फेला पार्न सकेन । साँझसम्म यात्रु र बस नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार