नौबिसे-मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द

0 Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडक खण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । आजदेखि आगामी साउन ९ गतेसम्म दैनिक पाँच घण्टा रातिको समयमा निर्माणको काम गर्न लागिएको हो ।

राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिएका छन् ।

नौबिसे नागढुङ्गा खण्डमा निर्माण हुँदै गरेको पुलको बिमलाई उचालेर पुलमा राख्न लागिएको र त्यस बेला हुनसक्ने जोखिमलाई मध्यनजर गरेर काम गर्न लागिएको उनले जानकारी दिए ।

गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको छ । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको छ ।

काम भइरहँदा सवारी साधन आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने समय (रातिको समय)मा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधनलाई पूर्ण रुपमा रोकिने छ ।

सम्पूर्ण चालकलाई आफ्नो लेनमा अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सूचना जारी गरेको छ । एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन पूर्णरुपमा बन्द रहने छ ।

राजमार्ग भएर यात्रा गर्ने सवारी साधनलाई वैकल्पिक मार्गको रुपमा गल्छी-विदुर-छहरेटोखा सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।

सम्बन्धित समाचार