काठमाडौं । पूर्व क्रिकेटर गौतम गम्भीर भारतीय राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव जय शाहले गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएका हुन् ।
भारतले २०११ को विश्वकप जित्दा टिमका महत्वपूर्ण खेलाडी रहेका गम्भीर हाल आईपील टिम कोलकोता नाइट राइडर्सका मुख्य प्रशिक्षक रहेका थिए । उनको नेतृत्वमा कोलकोताले यस सिजनको आईपीएल जितेको थियो ।
उनले अब भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको स्थान लिने छन् । हालै सम्पन्न टी २० विश्वकपपछि द्रविडको प्रशिक्षकको कार्यकाल सकिएको थियो ।
भारतीय क्रिकेटका ओपनर रहेका गौतमले भारतका लागि ५८ टेस्ट, १४७ एक दिवसीय र ३७ टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
यस क्रममा उनले टेस्ट क्रिकेटमा नौ शतक र २२ अर्ध शतकसहित चार हजार १५४ रन, एक दिवसीय क्रिकेटमा ११ शतक र ३४ अर्ध शतकसहित पाँच हजार २३८ रन र टी २० मा ७ अर्धशतकसहित ९३२ रन बनाएका छन् ।