भक्तपुरमा परालले छोपिएको अवस्थामा पुरूषको शव फेला

0 Shares

भक्तपुरमा एक जना पुरूष मृत फेला परेका छन् ।

शुक्रबार सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलस्थित वडा कार्यालय नजिकै एक गोठमा पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए ।

मृतक तेह्रथुम छथर गाउँपालिका वडा नम्बर २ घर भई सूर्यविनायक सिपाडोल बस्ने ३३ वर्षीय गोपालप्रसाद ढकाल छन् । डिएसपी पाठकका अनुसार उनी बुधबार राति ८ बजे कोठाबाट तेल किन्न जाने भनेर निस्केका थिए। तर उनी नफर्किएको भन्दै बिहीबार प्रहरी वृत्त जगाती भक्तपुरमा हुलियासहित निवेदन परेको थियो ।

त्यसपछि खोजी गर्ने क्रममा शुक्रबार उनको शव फेला परेको भन्ने खबर प्रहरीले पाएको हो । उनको शव स्थानीय रोशन बस्नेतको कच्ची इटा र माटोले बनेको दुई तले गोठको भुइँ तलामा परालले छोपेको अवस्थामा रगताम्मे फेला परेको हो ।

उनको शरीरमा चोटहरू पनि रहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी अनुसन्धान गर्न केनाइनबाट तालिम प्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गरिरहेको हो । यस घटनामा प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित समाचार