काठमाडौँ । मिटरब्याजी पीडितहरूले काठमाडौंमा जनप्रर्दशन गरेका छन् । देशभरका मिटरब्याजी पीडितहरू काठमाडौं आएर शुक्रवार जनप्रर्दशन गरेका हुन् ।
मिटरब्याजी पीडितहरूले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै पूर्वपश्चिम पैदल यात्रा गरी काठमाडौं आएका हुन् । उनीहरु भरतपुरमा एकीकृत भई निर्णायक आन्दोलनका लागि काठमाडौंमा आएका हुन् ।
मिटरब्याजी पीडितहरूले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए । १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए ।
मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन् । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत उनीहरुका माग छन् ।
यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याजी पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आएका थिए ।
पीडितहरुको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याजी पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।