काठमाडौं । जाम्बियाका एक विद्यार्थीले यस वर्ष नेपालको माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् ।
जापानको टोकियोस्थित मध्यभागमा रहेको नेपाली भाषाको एभरेष्ट इन्टरनेशनल विद्यालयमा अध्ययनरत छात्र चिसा टाइरिस कावेजाले २.९५ जिपिए ल्याउँदै पास भएको विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टले जानकारी दिए ।
यस वर्ष विद्यालयबाट नौ छात्र र १४ छात्रा गरी २३ जनाले एसईई परीक्षा दिएका थिए । परीक्षामा शतप्रतिशत उत्तीर्ण भएका छन् । “शतप्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका छन्”, प्राचार्य भट्टले भने ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीबार प्रकाशित २०८० को एसईई परीक्षामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।
कूल परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका बेला प्रवासमा रहेको त्यस विद्यालयबाट अफ्रिकी मुलुक जाम्बिायाका छात्रसहितका परीक्षार्थी उत्तीर्ण हुनुलाई सकारात्मकरुपमा हेरिएको छ ।