काठमाडौँ । लगातारको वर्षाका कारण विराटनगर जलमग्न भएको छ । मङ्गलवार बिहानदेखि विराटनगरमा पानी परिरहेको छ ।
मंगलबार दिउँसो विराटनगरमा पानी रहे पनि रातीबाट लगातार पानी परिरहेको छ । पानीका कारण विराटनगरका विभिन्न टोल डुबेको छ । पानीको निकास थुनिएका कारण धरान विराटनगर सडक खण्डको ढाटमा सडकबाटै पानी बगेको छ । आयल निगम क्षेत्र डुबानमा छ । विराटनगरको रानी क्षेत्रमा पनि घरहरू डुबेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लगातारको वर्षाको कारण मोरङका धेरै ठाउँ जलमग्न भएको प्रहरीले जनाएको छ। लगातार पानी परिरहेको कारण अझै विवरण आई नसकेको र आउने क्रम सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार विराटनगरका केही बस्तीहरू डुबानमा परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १९ को सरदार टोलका १० घर विस्थापित भएको एसपी कार्कीले जानकारी दिए ।
खोलाको बाढी विराटनगर महानगरपालिका ६ स्थित खोला आसपासका बस्तीमा पस्दा करिब ५ सय घरमा पसेको वडा नम्बर ६ का अध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिए ।
वडा नम्बर १२ को बस्तीमा केसलिया खोलाको बाढी पसेको छ । वडा अध्यक्ष हिरालाल कामतका अनुसार खोला किनारका ६० बढी घर डुबानमा परेका छन् ।