काठमाडौं । काठमाडौं जिल्ला अदालतले पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहस सकिएपछि थुनामा पठाउने र एक जनालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालका अनुसार अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाडौं महानगर ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
यस्तै, कागेश्वरी मनोहरा नगरपालिका ८ बस्ने ३४ वर्षका अनिल परियार, कागेश्वरी मनोहरा ९ बस्ने ३५ वर्षका कुमार दमाईं परियार र भक्तपुर मध्यपुर ठिमी नगरपालिका १२ का २९ वर्षीय सञ्जय कपालीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । परियारद्वय र कपाली बाजा बजाउने कर्मचारी हुन् ।
अदालतले काठमाडौं महानगर ८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । जेठ ७ गते भेटी चोरी गरेको देखिएपछि पक्राउ परेका उनीहरू मुद्दा दर्ता गरिएको छ ।