विपद् जोखिम न्यूनीकरण गर्न समयमै सूचनाको व्यवस्था मिलाउन मन्त्री शर्माको आग्रह

0 Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरोलगायत विपद् जोखिम न्यूनीकरण गर्न आम नागरिकलाई समयमै सही सूचना दिने व्यवस्था मिलाउन आग्रह गरेकी छन् ।

मनसुनजन्य विपद्का घटना बढ्न थालेको बेला इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर (ईटिसी)को बैठक आह्वान गरेर मन्त्री शर्माले सबैलाई तयारी अवस्था रहन आग्रह गरेकी हुन् । उनले आफ्ना सबै संरचनाहरु तयारी हालतमा राखेर नागरिकलाई तत्काल सूचना दिने गरी पूर्वतयारी थाल्ने सरोकारवालाहरुलाई सुझाव दिइन् ।

‘आपतकालीन अवस्थामा सञ्चार नै प्रमुख कुरा हो, समयमै सही सूचना भयो भने एकातिर जनधनको क्षति रोक्न सकिन्छ भने अर्कोतिर उद्धार, उपचार र राहतका काम पनि प्रभावकारी बनाउन सकिन्छ,’ उनले भनिन, ‘विपद्को बेलामा सञ्चार पूर्वाधारमा कुनै समस्या आउन नदिएर सेवा प्रवाह गर्ने र आवश्यक सूचना प्रचारप्रसार गरेर क्षति न्यूनीकरण गर्ने पनि सञ्चार क्षेत्र नै भएकाले यो क्षेत्र थप गम्भीर र संवेदनशील हुन आवश्यक छ ।’

विपद्का घटना हुनुअघि पूर्व सूचना दिने र स्वयं सञ्चारसम्बद्ध निकाय तथा संस्थाहरुले आफूलाई विपदबाट बचाएर सेवा प्रवाह गर्ने दुवै तरीकाले सोच्नु पर्ने उल्लेख गर्दै मन्त्री शर्माले हरेक निकायले आपतकालीन उद्धार समूहहरु बनाएर अघि बढ्नु पर्ने बताइन ।

टेलिफोन र इन्टरनेट सेवा प्रदायकहरुलाई सम्भावित जोखिम स्थलको पहिचान गरेर घटनापछि सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्थापन गर्न आग्रह गरिन । नेपाल विपद्का हिसाबले विश्वमै जोखिमयुक्त मुलुक भएकाले एउटा विपदबाट बच्ने तयारी गरिरहँदा अर्को विपद आउन सक्ने भएकाले दीर्घकालीन रुपमा विपदबाट बच्नका लागि सञ्चार व्यवस्था प्रभावकारी बनाउनु पर्नेमा मन्त्री शर्माले जोड दिइन ।

उनले यस्तो अवस्थामा आम सञ्चारका माध्यमको सबैभन्दा प्रभावकारी भूमिका हुने र त्यसमा पनि अझ जस्तो विपद्को बेलामा पनि सुन्न सकिने रेडियोहरुले क्षणक्षणमा सही सूचना दिनुपर्ने बताइन् ।

यसका लागि सरकारले के गर्नु पर्ने, सरकार माताहतका सञ्चार क्षेत्रले के गर्नुपर्ने, निजी क्षेत्रका सेवा प्रदायक र सामुदायिक तथा निजी क्षेत्रका सञ्चार माध्यहरुले के गर्नुपर्ने भन्ने विषयमा छलफल गरेर ठोस तयारीका लागि इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टरको बैठक बोलाइएको जानकारी दिंदै उनले सबै क्षेत्रले आ–आफ्नो तर्फबाट राम्रै तयारी गरेको भए पनि यसलाई एकीकृत र समन्वयकारी रुपमा अघि बढाउन आवश्यक रहेको बताइन ।

संकटको बेलामा सरकार, समुदाय, गैरसकारी र निजी क्षेत्रको बीचमा कुनै भिन्नता नहुने स्पष्ट गर्दै सबै एकीकृत रुपमा आधारित तथा सही सूचनाका आधारमा अघि बढ्नुपर्नेमा मन्त्री शर्माले जोड छ ।

बैठकमा दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलका प्रमुख तथा प्रतिनिधिहरुले बाढी पहिरोको जोखिमस्थल क्षेत्रका सेवाग्राहीलाई विपद जोखिमको सूचना दिन एसएमएस गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका थिए ।

त्यस्तै सरकारी स्वामित्वका सञ्चारमाध्यम, अकोराब, बानलगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले विपद्जन्य जोखिमबाट बच्नका लागि सचेतनाका कार्यक्रम र सूचनाहरु नियमित रुपमा प्रवाह गरिरहेको बैठकमा जानकारी गराएका थिए ।

 

सम्बन्धित समाचार