प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज-दिल्ली हवाई उडान गराउन माग

0 Shares

बाँके । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालगञ्ज-दिल्ली सीधा हवाई उडानको व्यवस्था मिलाउन माग राखिएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको नेतृत्वमा बाँकेका सबै राजनीतिक दल, नागरिक समाजका अगुवाले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई आज नेपालगञ्जमा ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराइएको हो ।

राजनीतिक दलसहितका व्यवसायीहरुले ध्यानाकर्षण पत्रमा नेपालगञ्ज दिल्ली सीधा हवाई उडानसँगै सुक्ख्खा बन्दरगाह स्थापनाको पहल गर्न भनिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चीरञ्जिवी ओलीले नेपालगञ्ज दिल्ली सीधा हवाई उडान भएमा यस क्षेत्रको पर्यटन, धार्मिक, शिक्षा स्वास्थ्यमा ठूलो फड्को मार्ने उल्लेख रे ।

उनले नेपालगञ्जमा निर्माण भएको एकीकृत जाँच चौकीलाई स्तरोन्नति गरेर सुक्खा बन्दरगाह बनाउन सके त्यसले आयात निर्यात ब्यापारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपालगञ्ज भारतसँगको सीमावर्ती प्रमुख व्यापारिक केन्द्र भए पनि अन्तर्राष्ट्रिय हवाई सम्पर्क, रेलमार्ग तथा व्यापारिक पूर्वाधारका हिसाबले अपेक्षित रुपमा अघि बढ्न नसकेको व्यवसायीहरूको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी तामाङले आफू बाँके आएदेखि निरन्तर सम्वाद गरिरहेको बताए । ज्ञापनपत्र बुझाउन नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्ट, राष्टिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र नागरिक समाजका अगुवा सहभागी थिए ।

सम्बन्धित समाचार