आजदेखि विराटनगरमा राति २ बजेसम्म रात्रीकालीन व्यवसाय सञ्चालन हुने

0 Shares

विराटनगर । मंसिर १ गते (आज)देखि विराटनगर क्षेत्रमा रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसायहरू राति २ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले तयार पारेको ‘मोरङ जिल्लाको विराटनगर क्षेत्रमा रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड, २०८३’ पारित भएसँगै व्यवसाय सञ्चालनको बाटो खुलेको हो । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले उक्त कार्यविधि पारित भइसकेको जानकारी दिए ।

गृह मन्त्रालयको ‘पूर्ण समयमा व्यवसाय सञ्चालन गर्ने सम्बन्धी कार्यविधि, २०७९’ को अधीनमा रही प्रशासनले ल्याएको मापदण्डअनुसार राति १० बजेपछि सञ्चालन हुने व्यवसायलाई रात्रीकालीन व्यवसाय मानिनेछ । राति १० बजेसम्म खुल्ने व्यवसायले छुट्टै अनुमति लिनु नपर्ने भए पनि १२ बजेसम्म खुल्न चाहने किराना, पान, मिठाई, चिया, आइसक्रिम पसल, रेष्टुरेन्ट र खाना–खाजा पसलले मापदण्ड पूरा गरी अनुमति लिनुपर्नेछ । त्यस्तै, लाइभ म्युजिक, पब, डान्स क्लब, डिस्को, लाउन्ज बार, दोहोरी र गजल रेष्टुरेन्ट राति २ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

व्यवसाय सञ्चालनका लागि वडा कार्यालयको सिफारिस र चेकलिस्टसहित जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनुपर्नेछ । अनुगमन समितिको स्थलगत निरीक्षणपछि मात्र अनुमति दिइने मापदण्डमा उल्लेख छ । राति २ बजेसम्म व्यवसाय खुला रहे पनि मदिरा पसल बिहान १० देखि राति १० बजेसम्म मात्र खोल्न पाइनेछ । होटल तथा मनोरञ्जन स्थलमा दिउँसो १२ बजेअघि तथा राति शुक्रबार १ बजेपछि र अन्य बार १२ बजेपछि मदिरा बिक्री वा खुवाउन निषेध गरिएको छ ।

मापदण्डमा सुरक्षा र ध्वनि नियन्त्रणका कडा शर्त राखिएका छन् । मनोरञ्जनात्मक व्यवसायमा अनिवार्य ‘साउन्ड प्रुफ’ भवन र ‘साउन्ड कन्ट्रोल सिस्टम’ जडान गर्नुपर्नेछ । ध्वनि प्रदूषण भई छिमेकीलाई बाधा पुगे अनुमति रद्द गरिनेछ । प्रवेश र निकास द्वार तथा सडक क्षेत्र देखिने सिसिटिभी, परिसर र बाहिर १०० मिटरसम्म बत्ती, डिजिटल डिस्प्ले बोर्ड, फायर एक्सटिङ्गुइसर, आपत्कालीन द्वार, पार्किङ र सुरक्षा गार्ड अनिवार्य गरिएको छ । मादक पदार्थ सेवन गरेका ग्राहकलाई न्यूनतम शुल्कमा सुरक्षित यातायात (ड्रप) को व्यवस्था व्यवसायीले मिलाउनुपर्नेछ ।

डान्सबार, पब, डिस्को र दोहोरीमा १८ वर्ष मुनिकालाई प्रवेश तथा सुर्ती–मदिरा बिक्री निषेध गरिएको छ । मसाज पार्लरको ढोकामा चुकुल वा लक लगाउन नपाइने व्यवस्था छ । श्रमिकलाई नियुक्तिपत्र, बैंकिङ प्रणालीमार्फत् तलब, जोखिम बिमा र रातिको खाना तथा यातायात उपलब्ध गराउनुपर्नेछ । महिला श्रमिकका लागि सुरक्षित चेन्जिङ रुम र स्तनपान कक्ष अनिवार्य छ । कर्मचारीले कामको समयमा मदिरा पिउन, ग्राहकसँगै बसेर खान–पिउन र उत्तेजक पोशाकमा नाच्न–गाउन पाउने छैनन् ।

नियमअनुसार राति १० बजेपछि सेवा लिन बाहिर निस्कने ग्राहकले समेत अनिवार्य परिचयपत्र बोक्नुपर्नेछ । विराटनगरको केशलिया र सिंङिया खोला क्षेत्र, उत्तरमा स्वागत गेट (ढाट) र दक्षिणमा रानीसम्म लागू हुने मापदण्डको अनुगमन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समितिले गर्नेछ । आकस्मिक निरीक्षणमा मापदण्ड उल्लंघन गरेको पाइए रात्रीकालीन अनुमति तत्काल रद्द गरी प्रचलित कानून बमोजिम थप कारबाही गरिने प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार