काठमाडौं। नेपाली बजारमा १६ सिट क्षमताको प्रिमियम विद्युतीय मिनिबस म्याक्सस डेलिभर ५ सार्वजनिक भएको छ। हिमालय अर्गनाइजेसनअन्तर्गत नेपालका लागि म्याक्सको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय मोटोक्र्स प्रालिले प्रिमियम सुविधा युक्त १६ सिट क्षमताको विद्युतीय मिनिबस सार्वजनिक गरेको हो।
कम्पनीले १६ सिट क्षमताको प्रिमियम विद्युतीय मिनिबस म्याक्सस डेलिभर५ को मूल्य ६९ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ। यो गाडी विशेषगरी होटल, रिसोर्ट पर्यटन तथा आतिथ्य सेवा र व्यावसायिक यातायात क्षेत्रकालाई लक्षित गरी ल्याइएको यो मिनिबसमा आधुनिक डिजाइन, सुविधा सम्पन्न इन्टेरियर, उन्नत सुरक्षा प्रविधि र आरामदायी यात्राका विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ।
हिमालय मोट्रोक्सले यसअघि म्याक्सस ई-टेरोन ९ पिकअप पनि नेपाली बजारमा ल्याएको थियो। आकर्षक डिजाइन र बोल्ड लुक्सका कारण उक्त पिकअप नेपाली बजारमा लोकप्रिय हुँदै गएको कम्पनीको भनाइ छ।
म्याक्सस डेलिभर ५ ईभीमा यात्रालाई सहज र सुविधाजनक बनाउन विभिन्न आधुनिक फिचर उपलब्ध गराइएको छ। यसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली जडान गरिएको छ। जसले ब्लुटुथ, यूएसबी, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो सपोर्ट गर्छ।
त्यस्तै, चार तहमा समायोजन गर्न मिल्ने स्टेरिङ, आधुनिक ककपिट, स्टेरिङमा जडित नियन्त्रण स्विचलगायतका सुविधाले चालकलाई सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ। विद्युतीय कारमा पाइने आधुनिक सुविधालाई मिनिबसमा समेत समेटिएको कम्पनीको दाबी छ।
यो गाडीमा ६४ किलोवाट आवर क्षमताको सीएसटएल ब्याट्री जडान गरिएको छ। यसले एकपटक पूर्ण चार्ज गर्दा ४०० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ। यस गाडीले अधिकतम १२० किलोवाट पावर र २४० न्यूटन मिटर टर्क उत्पादन गर्छ। यसमा ७० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ। उक्त सुविधामार्फत ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३६ मिनेट लाग्ने कम्पनीले जनाएको छ।
लामो दूरीमा यात्रु ओसारपसार गर्ने, होटल तथा रिसोर्टका पाहुनालाई आवतजावत गराउने र पर्यटन क्षेत्रमा सवारी सञ्चालन गर्ने व्यवसायीका लागि यी विशेषता उपयोगी हुने कम्पनीको अपेक्षा छ।
यात्रु तथा चालकको सुरक्षालाई प्राथमिकता दिँदै उक्त गाडीमा ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फरवार्ड कोलिजन वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट, इमर्जेन्सी लेन किपिङ र ड्राइभर स्टेट मोनिटरिङजस्ता आधुनिक प्रविधि समावेश गरिएको छ।
यसका अतिरिक्त चालक र अगाडिको यात्रुका लागि एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल तथा टायर प्रेसर मोनिटरिङ सिस्टम पनि उपलब्ध छन्। यो गाडीको ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको छ। यसको ब्याट्रीमा ८ वर्ष र मोटरमा ५ वर्षको वारेन्टी दिइएको छ ।