भ्रष्टाचार रोक्न अख्तियार सक्रिय भएपछि रौतहटका जनप्रतिनिधि चिन्तित

0 Shares

काठमाडाैं । पछिल्लो समय रौतहटका स्थानीय तहमा अख्तियार दुरुपयोग अनुसन्धानको नाममा आतंक फैलिएको जनप्रतिनिधिले गुनासो गरेका छन् ।

रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित आयोजित कार्यक्रममा शुक्रबार अधिकांश जनप्रतिनिधि त्यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान हेटौँडाको कार्यक्षेत्रअन्तर्गत सबैभन्दा बढी मुद्दा पर्ने दोस्रो जिल्लाको रुपमा रौतहट रहेको बताइएको छ ।

अख्तियार हेटौंडाअन्तर्गत १२ जिल्लामध्ये सबभन्दा बढी मुद्दा पर्ने जिल्लाको रूपमा बारा रहेको छ भने रौतहट दोस्रो स्थानमा रहेको छ ।

तराई विकास तथा सञ्चार केन्द्र काठमाडौंको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रौतहटको समन्वयमा स्थानीय शुक्रबार दुर्गा भगवती गाउँपालिकामा आयोजित ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका’ विषयक कार्यक्रमका उक्त कुरा प्रकाशमा आएको हो ।

कार्यक्रमका प्रमुख अतिथि उपमहालेखापरीक्षक पदमबहादुर पौडेलले विश्व आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा सबैले आआफ्नो दायित्व सम्झेर राज्यको उद्देश्य पूरा गर्नु पर्ने जिम्मेवारीबोध गराएका छन् ।

स्थानीय तहका राम्रा कार्यहरू प्रचार प्रसारमा ल्याउनु पर्ने बताएका थिए । देशमा हाल ११ खर्ब रुपैयाँ बेरुजु रहेको छ । देशको बजेट बराबरको बेरुजु फर्छ्यौट गर्नु पर्नेमा त्यसो नहुँदा उनले चिन्ता व्यक्त गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका उपसचिव सुरेन्द्र घिमिरेले आयोगको कार्यालयमा गत वैशाख मसान्तसम्म कूल २७ सय ७१ मुद्दा परेको, जसमध्ये १५९९ छानबिन भएर फर्छ्यौट भइसकेको तथा ११७२ मुद्दा बाँकी रहेको बताए ।

त्यस्तै, रौतहटको ६२८ मुद्दा मध्ये २५० फर्छ्यौट भइसकेको उनले जानकारी दिएका थिए ।

कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले स्थानीय तहमा काम गर्ने कर्मचारीमा अख्तियारको भय व्याप्त रहेकाले समयमा काम गराउन चुनौतीपूर्ण रहेको बताए ।

गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवाल, दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भुकुमार सिंहसहित दुर्गा भगवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकलगायत स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले आफ्ना भनाइ राखेका थिए ।

कार्यक्रममा दुर्गा भगवतीकी उपाध्यक्ष शिलादेवी, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, इशनाथका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र झा, बौधीमाइको प्रमुख प्रशासकीय अधिकृत प्रमोद यादव, कटहरियाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, अधिकृत देवनाथ यादवसहित नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंलगायतका सुरक्षा निकायका प्रतिनिधिसहित विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राज्यद्वारा प्रदत्त गरिएका हक अधिकारको सही रूपमा प्रयोग गरेर आम सेवाग्राहीलाई निष्पक्ष रुपमा सेवा प्रवाह गर्नु पर्नेमा जोड दिए ।

सम्बन्धित समाचार