काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गास्थित सुरुङमार्गमा पटक पटक ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालकलाई कारबाही गरेको छ ।
सुरुङमार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्रगतिमा सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले नागढुङ्गास्थित सुरुङमार्ग सञ्चालनमा आएदेखि हालसम्म ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउनलाई कारबाहीको दायरामा ल्याइएको जानकारी दिए ।
‘सुरुङमार्गमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा सवारी चलाउन पाइन्छ, सोहीअनुसारको सूचना बोर्ड राखिएको छ, उक्त नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याइएको छ,’ प्रवक्ता सुवेदीले भने ।
सुरुङमार्गभित्र स्टन्ट गर्ने, अनावश्यक रूपमा हर्न बजाउने, गलत तरिकाले ओभरटेक गर्ने र तीव्र गतिमा सवारी चलाउनेजस्ता गतिविधि हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । त्यस्ता गतिविधिले सुरुङमार्गमा दुर्घटनाको जोखिम बढाउनुका साथै आकस्मिक अवस्थामा उद्धारसमेत प्रभावित हुनसक्ने प्रवक्ता सुवेदीको भनाइ छ ।
ट्राफिक प्रहरीले सुरुङमार्ग प्रयोग गर्दा अन्य सडकको तुलनामा थप संवेदनशील भएर सवारी चलाउन चालकलाई आग्रह गरेको छ । सुरुङभित्र लेन अनुशासन कायम गर्ने, निर्धारित गतिको पालना गर्ने, अनावश्यक हर्न नबजाउने तथा ओभरटेक गर्दा विशेष सावधानी अपनाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
यसैबीच, आजमात्रै सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने १३ चालक कारबाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयअन्तर्गत ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले उनीहरूलाई कारबाही गरेको हो ।