काठमाडौँ आउँदै गरेका १०५ वटा ग्यास बुलेट बिच बाटोमै रोकिए

0 Shares

काठमाडौँ । काठमाडौँ आउँदै गरेका १ सय ५ वटा ग्यास बुलेट बिच बाटोमै रोकिएका छन्।

बाढीपहिरोको कारण पृथ्वी राजमार्गमा यातायात आवतजावत ठप्प हुँदा काठमाडौँ उपत्यकामा ग्यास आपूर्तिका लागि ल्याउन लागिएका १ सय ५ वटा ग्यास बुलेट बिचमै रोकिएका नेपाल आयल निगमले जनाएको छ। बुधबारदेखिको वर्षाका कारण पृथ्वी राजमार्गको कृष्णभिरसहित दर्जनौ ठाउँमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ।

यता सडक अवरुद्ध हुँदा भारतबाट ग्यास बोकेर आएका बुलेट काठमाडौँ आउन नपाएका निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। सडकमा यातायात सुचारु हुनासाथ ती ग्यास बुलेट उपत्यकामा भित्रिने उनले बताए। १ सय ५ वटा ग्यास बुलेटले एक लाख ५० हजार सिलिन्डर बराबरको ग्यास ल्याएका निगमले जनाएको छ।

भारतको बरौनी, पारादीप, हल्दियालगायत स्थानबाट ग्यास लोड गरेर काठमाडौँ आउँदै गरेका ती ग्यास बुलेट यतिबेला चितवन र हेटौँडा आसपास आएर रोकिएका छन्। काठमाडौँ उपत्यकामा रहेका १६ वटा ग्यास ब्रान्डका लागि लोड गरिएका ती बुलेट वीरगन्ज भन्सार क्लियर भएर चितवनको रामनगरमा, हेटौँडा लगायतका ठाउँमा रोकेर राखिएको निगमले जनाएको छ।

ती ग्यास बुलेट काठमाडौँ आउने बित्तिकै ५० हजारदेखि ६० हजार सिलिन्डरका दरले बजारमा पठाउन सकिने दाबी पनि निगमले गरेको छ। निगमले आइतबार काठमाडौँ उपत्यकामा १७ हजार सिलिन्डर वितरण गरिएको जानकारी दिएको छ।

ग्यास आपूर्ति सहज नहुँदा यतिबेला काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा खाना पकाउने ग्यासको अभाव छ।

सम्बन्धित समाचार