पाँचथरको मिक्लाजुङमा श्रीमानको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

0 Shares

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक व्यक्तिको हत्या गरेको आरोपमा प्रहरीले आमा-छोरालाई पक्राउ गरेको छ । मिक्लाजुङ गाउँपालिका-३ का इन्द्रकुमार दमाईंको हत्या गरेको आरोपमा उनकी ४३ वर्षीया श्रीमती र १७ वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिष कर्णका अनुसार प्रारम्भिक अनुसन्धानमा आमा-छोरा मिलेर दमाईंको हत्या गरेको खुलेको छ । पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको डीएसपी कर्णले बताए ।

अनुसन्धानका क्रममा पक्राउ परेका आमा-छोराले दमाईंलाई आफ्नै घरमा बन्चरो र दाउले प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । उनीहरूका अनुसार हत्या गरेपछि शवलाई सुरुमा घरनजिकै रहेको आल्चाको रुखमा झुन्ड्याइएको थियो । पछि उक्त शवलाई रुखबाट निकालेर करिब पाँच सय मिटर तल भीरपाखामा लगेर फालिएको उनीहरूले प्रहरीसमक्ष बयान दिएका छन् ।

दमाईं गत भदौ २० गते छिमेकी इन्द्र राईको पाखाबारीमा मृत अवस्थामा फेला परेका थिए । उनको घाँटीमा सलको पासो लगाइएको अवस्थामा शव भेटिएको थियो भने निधारलगायत शरीरका विभिन्न भागमा धारिलो वस्तुले प्रहार गरेजस्तो चोट देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा प्रयोग भएको बन्चरोसहित अन्य केही हतियारसमेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शवको अवस्था र शरीरमा देखिएको चोटका आधारमा प्रहरीले घटनालाई आत्महत्या नभई हत्या भएको आशंका गर्दै अनुसन्धान अघि बढाएको थियो ।

सम्बन्धित समाचार