काठमाडौं । प्रभु बैंकले रसुवाका भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग उपलब्ध गराएको छ।
बिहीबार बैंकले ती राहत सामग्री जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत बाढीपीडितलाई वितरण गर्ने गरी हस्तान्तरण गरेको हो। बैंकका प्रमुख बजार व्यवस्थापक दीपेन्द्रबाबु विष्टले राहत सामग्री जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरे।
बाढीका कारण घरबारविहीन भएका तथा प्रभावित परिवारलाई थप सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको बैंकले जनाएको छ। रसुवा बाढी प्रभावित परिवारका लागि आश्रय सामग्रीको आवश्यकता अझै रहेको सरकारी विवरणले पनि देखाउँछ।
यसअघि प्रभु बैंकले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो।
भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो। बाढी प्रभावितका लागि जिल्ला प्रशासन कार्यालयले राहत वितरणको विवरणसमेत सार्वजनिक गर्दै आएको छ।