सिटिजन्स बैंकले ल्यायो ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर र सवारी कर्जा

0 Shares

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा घर तथा व्यक्तिगत सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले ‘सजिलो घर कर्जा’ पाँच वर्ष र व्यक्तिगत सवारीसाधन कर्जा तीन वर्षसम्म सोही ब्याजदरमा उपलब्ध गराउने जनाएको छ।

बैंकका अनुसार घर कर्जामा ५.९९ प्रतिशत ब्याजदर ५ वर्षसम्म स्थिर रहनेछ। त्यस्तै, व्यक्तिगत सवारीसाधन कर्जामा पनि ५.९९ प्रतिशत ब्याजदर ३ वर्षसम्म कायम रहनेछ।

स्थिर ब्याजदरको अवधि सकिएपछि भने बैंकको प्रचलित औसत मासिक आधारदरमा १.५५ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार योजनामा सहभागी हुन ग्राहकले नजिकको कुनै पनि सिटिजन्स बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

डिजिटल सेवामा विस्तार

सिटिजन्स बैंकले पछिल्लो समय डिजिटल तथा ग्राहककेन्द्रित बैंकिङ सेवामा विस्तार गरिरहेको जनाएको छ। बैंकले ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।

त्यस्तै, फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेविङ अकाउन्ट’ सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

बैंकले फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ।

मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको बैंकको दाबी छ। त्यस्तै, अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने ‘क्रस बैंक टेलर’ सुविधा पनि सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

बैंकका अनुसार सिटिजन्स बैंकले ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ। बैंकले २० लाख ६४ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार